‘घरैमा विद्यालय’ कार्यक्रमले बालबालिकाको पढाइमा सुधार

घरैमा विद्यालय जस्तो देखिने एआइको सहयोगमा तयार गरिएको फोटाे

दैलेख: दैलेखको भगवतीमाई गाउँपालिकाकामा सञ्चालन भएको घरैमा विद्यालय कार्यक्रमले बालबालिकाको पढाइमा सुधार आएको छ ।

गाउँपालिकामा शारीरिक तथा मानसिक अपाङ्गताका कारण विद्यालय जान नसक्ने बालबालिकाका लागि सञ्चालित ‘घरैमा विद्यालय’ कार्यक्रमले बालबालिकामा सकारात्मक परिवर्तन ल्याएको छ ।

यस कार्यक्रम अघिसम्म केही बालबालिका जहाँ पायो त्यहीँ दिशा(पिसाब गर्थे र नयाँ मान्छे आउँदा अलमलिन्थे। तर घरैमा विद्यालय मार्फत पढाउन थालेपछि अहिले उनीहरू कपडा लगाउँछन्, दिशा-पिसाब गर्न शौचालय जान्छन् र घरमा नयाँ मान्छे आउँदा ‘नमस्ते‘ गर्छन्।

विद्यालय जान नसक्ने अवस्थाका बालबालिकाहरूलाई घरमै पुगेर सहजकर्ताहरूले आवश्यक शिक्षा, बानी व्यवहार, व्यक्तिगत सरसफाइ सम्बन्धी सिकाउँदै आएको बुझिएको छ । हाल गाउँपालिका भित्र १० वटा घरमा १३ जना बालबालिकाले घरमै विद्यालय पाएका छन् ।

घरमै विद्यालयको सहजीकरण गर्दै आएकी  भगवतिमा गाउँपालिका-५की सहजकर्ता करिस्मा सिंहले बालबालिकाले यसबाट पढाइमा समेत सुधार भएको बताइन् ।

सहजकर्ता सिंहले अनुगमन टोलीसँग यस्ता अपाङ्गता भएका बालबालिकाका लागि दैनिक खाजाको समेत व्यवस्था गरिदिन आग्रह गरेकी छिन् । आफूले पढाउँदै गरेका एक जना बालकलाई सुरुमा कसरी पढाउने होला भन्ने लागेको बताइन् । बालकको अवस्थाले चिन्तित सिंह अहिले महिनाको २५ दिन उनीसँगै हुन्छिन् र उनलाई सिकाउँदै दिन जान्छ ।

घरमै विद्यालय पछि भगवतिमाई गाउँपालिकामा ३५ वटा समुदायमा पढाइ शिविरबाट कक्षा १ देखि ३ सम्मका ७ सय ६७ जना बालबालिकालाई हरेक हप्ताको शनिवार ७ चरणमा खेल्दै सिक्दै गरिरहेको कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका शिक्षा अधिकृत जनक प्रसाद अधिकारीले जानकारी दिए ।

परियोजनाको स्थलगत अनुगमन तथा समीक्षा:

भगवतिमाई गाउँपालिकामा सञ्चालित एकीकृत कार्यक्रम ढाँचा (IPF-SHIELD)परियोजनाको आइतबार स्थलगत अनुगमन गरिएको छ । परियोजनाले सञ्चालन गरेका गतिविधिहरूको पालिका स्तरीय सल्लाहकार समितिले अनुगमन गरेको हो ।

भगवतीमाई गाउँपालिकाको समन्वय, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सोसेक  नेपालको साझेदारीमा सञ्चालित परियोजनाले सञ्चालन गरेका गतिविधिको अनुगमन टोलीले पालिकाका विभिन्न वडामा सञ्चालित बाल क्लब, औपचारिक विद्यालय र विद्यालय जान नसक्ने अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालित ‘घरैमा विद्यालय‘ कार्यक्रमको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा शैक्षिक सामग्रीको सदुपयोग, पठनपाठनको अवस्था, बसाइ व्यवस्थापन तथा बालबालिकाको व्यवहार परिवर्तनका विषयमा सूक्ष्म अध्ययन गरिएको वर्ल्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सुरज  शर्माले बताए ।

अनुगमनका क्रममा शारीरिक तथा मानसिक अपाङ्गताका कारण विद्यालय जान नसक्ने बालबालिकाका लागि सञ्चालित ‘घरैमा विद्यालय’  शिक्षाले बालबालिकामा सकारात्मक परिवर्तन ल्याएको पाइएको छ ।

अनुगमन पछि सोमबार गाउँपालिकाको सभा हलमा भएको समीक्षा कार्यक्रममा बोल्दै जनप्रिय प्राथमिक विद्यालय चाख्लाका शिक्षक नरबहादुर विश्वकर्माले संस्थाले उपलब्ध गराएका चित्र र शैक्षिक सामग्रीले शिक्षण सिकाइ सहज बनाएको बताए। पहिला कालोपाटीमा अक्षर चिनाउन खोज्दा विद्यार्थीले बुझ्न गाह्रो मान्थे, अहिले शैक्षिक सामग्री स्वयं विद्यार्थीकै हातमा दिएर पढाउँदा उनीहरूले छिटो र सजिलै बुझ्न थालेका छन्, शिक्षक विश्वकर्माले भने।

सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर शाहीले विद्यालयमा घेरबार नहुँदा साना बालबालिका लडेर घाइते हुने जोखिम रहेको भन्दै तत्काल कम्पाउन्ड वालको व्यवस्था गरिदिन माग गरे। स्थानीय सहभागीहरूले विद्यालयहरूमा स्मार्ट बोर्ड, शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम र बाल क्लबमार्फत आगामी दिनमा छुवाछूत तथा बालविवाह जस्ता सामाजिक कुरीतिविरुद्धका कार्यक्रमलाई थप जोड दिनुपर्ने भनाइ राखे ।

समीक्षा कार्यक्रममा आफ्नो भनाइ राख्दै दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग  शाहीले संस्थाहरूले गरेको काम निकै सराहनीय र प्रभावकारी रहेको बताए।

अनुगमनका क्रममा विद्यालयहरूमा संस्थाहरूले गरेको कामको निकै राम्रो प्रभाव देखिएको छ। लक्षित समुदाय र बालबालिकाका लागि आएका सामग्रीको सही सदुपयोग हुनुपर्छ।

 बालबालिकालाई हिंसाबाट जोगाउन र उनीहरूमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन बालबालिकालाई नै राम्रो शिक्षा र ज्ञान दिनु आवश्यक रहेको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले विकट बस्तीहरूमा संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै भने, हाम्रो पालिकामा सोसेक र वर्ल्ड भिजनले निकै राम्रो काम गरिदिएका छन् । आगामी दिनमा पनि पालिकाका तर्फबाट संस्थाका हरेक सकारात्मक अभियानमा पूर्ण साथ, सहयोग र सहकार्य रहिरहनेछ ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी खड्काले संयुक्त प्रयासले बालबालिकाको शिक्षण सिकाइ र व्यवहारमा सुधार आएको बताइन्।

सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले समुदायका विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई शिक्षा र अधिकारको मूल प्रवाहमा ल्याउन संस्था निरन्तर क्रियाशील रहेको बताइन्।

कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सुरज  शर्मा, परियोजनाका कार्यक्रम संयोजक ललितकुमार खड्का र शिक्षा अधिकृत जनक प्रसाद अधिकारीले परियोजनाले हालसम्म हासिल गरेका उपलब्धि, सञ्चालित गतिविधि र भावी रणनीतिबारे जानकारी गराएका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५