काठमाडौं: काठमाडौंको खुलामञ्चमा आगामी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याएको नेपाली कांग्रेसको संस्थापन इतर समूहले कात्तिक २२ गतेभित्र सबै जिल्लामा सम्पन्न गर्नेगरि जिल्ला अधिवेशनलाई तीव्र बनाएको छ।
यसअघि कात्तिक १५ गतेभित्रै जिल्ला अधिवेशन सक्ने कार्यतालिका थियो। तर, प्रतिकूल मौसमका कारण कार्यतालिका प्रभावित भएपछि मिति संशोधन गरेर कात्तिक २२ सम्म पुर्याइएको उक्त समूहका नेता दीपकप्रसाद कुइँकेलले जानकारी दिए।
उनका अनुसार आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको छ भने सोमबार थप २५ जिल्लामा अधिवेशन जारी छ। सबै जिल्लाको अधिवेशन सकिएपछि आगामी मंसिर ४ गते एकैसाथ सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने योजना रहेको सुनाउँदै कुइँकेलले भने, “हामी धमाधम जिल्ला अधिवेशनहरू गरिरहेका छौं।”
कुइँकेलका अनुसार महाधिवेशनको उद्घाटन र बन्दसत्र काठमाडौंको खुलामञ्चमा हुने छ भने भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिनेछ। त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने भएको छ। महाधिवेशनमा आठ हजार जति प्रतिनिधि सहभागी हुने कुइँकेलले जानकारी दिए।
यता असोजमै १५ औँ महाधिवेशन सम्पन्न गरिसकेको गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले नयाँ कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा पेश गरिसकेको छ। तर, आफूलाई आधिकारिक कांग्रेसको दाबी गरिरहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई भागमा विभाजित कांग्रेसको आधिकारिकता विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएको वैधतामाथि परीक्षण हुने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएपछि उत्साहित भएको इतर समूह नियमित महाधिवेशनमा जुटेको छ।
केन्द्रीय निर्वाचन समिति संयोजक तोकेर महाधिवेशनको प्रक्रिया थालेको यस समूहले चाँडै विभिन्न समितिहरू बनाउने जनाएको छ। पूर्व सभापति देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गरिरहेको छ। नेता कुइँकेलले दुई समूहमा विभाजित भएको कांग्रेस तत्काल एक हुने सम्भावना न्यून रहेको बताए।
“अब दुई समूहबीच संवाद वा एकता हुने सम्भावना छैन। वडा अधिवेशन अगावै संयुक्त कार्यतालिका गरौं भन्ने हाम्रो प्रस्ताव थियो, त्यो उहाँहरूबाट चासो दिनु भएन। अब एकता सम्भव देखिँदैन,” उनले भने, “हामी पार्टी विभाजन होस भन्ने मनस्थितिमा थिएनौं, तर बाध्यकारी बन्यो। कानुनी भन्दा पनि राजनीतिक रूपमा नै समस्याको टुंगो लगाऔँ भन्नेमा थियौं, तर परिस्थिति त्यस्तो बनेन।”




खुल्ला प्रेस । १७ कार्तिक २०८३, सोमबार १८:५३