दैलेखः कर्णालीको विद्युत आपूर्ति सुधार गर्दै जलविद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यसहित निर्माण थालिएको सुर्खेत–दैलेख १३२ केभी विद्युत प्रसारण लाइन रुख कटानको अनुमति नपाउँदा रोकिएको छ । ठेक्का सम्झौता भएको दुई वर्ष बितिसक्दा आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशतमा सीमित छ । मन्त्रिपरिषद्बाट रुख कटानको स्वीकृति नपाउँदा कम्तीमा २० वटा टावरको जग खन्ने काम समेत सुरु हुन सकेको छैन ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनदेखि दैलेखको चुप्रासम्म ३२ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि २०८० सालमा सिग्मा काठमाडौंसँग ठेक्का सम्झौता गरिएको थियो । करिब ८० करोड रुपैयाँ लागतको आयोजना सम्झौताअनुसार २०८२ सालभित्रै सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयसीमा सकिएर म्याद थप्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन् ।
प्रसारण लाइनको निर्माणमा भौगोलिक विकटताभन्दा पनि वन क्षेत्रका रुख कटानसम्बन्धी कानुनी तथा प्रशासनिक प्रक्रिया मुख्य बाधक बनेको छ । प्रसारण लाइनको मार्गमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रुख कटान गर्न मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने व्यवस्था छ । तर, लामो समयदेखि निर्णय हुन नसक्दा निर्माण प्रभावित भएको हो । प्राविधिक अध्ययनअनुसार प्रसारण लाइन निर्माण क्षेत्रमा साना तथा ठूला गरी १९ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ ।
रुख कटानका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन, नाप जाँचलगायत वन मन्त्रालयअन्तर्गतका प्रशासनिक प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद् निर्णयका लागि फाइल पेस गरिसकिएको आयोजनाका प्रमुख रविकुमार चौधरीले बताए । उनका अनुसार रुख कटानको अनुमति प्राप्त हुनासाथ रोकिएका टावरको जग (फाउन्डेसन) निर्माणलगायत काम अघि बढाइनेछ । अनुमति नपाउँदा वन क्षेत्रमा पर्ने २० वटा टावरको फाउन्डेसन निर्माण सुरु हुन सकेको छैन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ र १३ हुँदै दैलेखको गुराँस गाउँपालिका–४ र ५ तथा डुङ्गेश्वर गाउँपालिका–१ र ६ भएर चुप्रासम्म पुग्ने प्रसारण लाइनमा कुल १ सय १ वटा एंगल टावर निर्माण गर्नुपर्नेछ । आयोजनाका अनुसार हालसम्म ४१ वटा टावर निर्माण भएका छन् भने थप ४० वटा टावरको फाउन्डेसन निर्माण गरिएको छ ।
वन क्षेत्रका रुख कटानको अनुमति नपाउँदा बाँकी २० वटा टावरको जग खन्ने काम सुरु हुन सकेको छैन । यसरी १ सय १ वटा टावरमध्ये ४१ वटा टावर निर्माण भएका, ४० वटाको फाउन्डेसन बनेका र २० वटाको जग खन्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।
प्रसारण लाइन निर्माणमा ढिलाइ भइरहे पनि दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, चुप्रामा निर्माणाधीन १३२ केभी सबस्टेसनको भौतिक प्रगति ६० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । सुर्खेत–दैलेख प्रसारण लाइन एउटा जिल्लाको विद्युत आपूर्तिमा सुधार गर्ने आयोजनाका रूपमा मात्रै सीमित छैन् । यो कर्णाली प्रदेशको समग्र ऊर्जा सुरक्षा र जलविद्युत विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधार हो । तर, नयाँ चुस्त सरकार हुँदा समेत आवश्यक प्रशासनिक निर्णयमा ढिलाइ हुँदा प्रसारण लाइन निर्माणको गति प्रभावित भएको छ ।
सरकारको दीर्घकालीन योजनाअनुसार दैलेखको चुप्रापछि बेलघारीमा निर्माण हुने सबस्टेसनबाट प्रसारण लाइन विस्तार गर्दै कालिकोट हुँदै जुम्लासम्म पु¥याउने लक्ष्य छ । तर, दोस्रो चरणअन्तर्गत कालिकोट–जुम्ला खण्ड निर्माणका लागि सरकारले हालसम्म ठोस नीतिगत तथा बजेटीय योजना अघि बढाउन सकेको छैन् ।
विस्तृत अध्ययन प्रतिवेदनअनुसार दैलेख–कालिकोट–जुम्ला खण्ड ८२ दशमलव १४ किलोमिटर लामो हुनेछ । उक्त खण्डमा डबल सर्किटसहितको १३२ केभी प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ । यसका लागि २ सय ७९ वटा टावर निर्माण गर्नुपर्नेछ । प्रस्तावित प्रसारण लाइन दैलेखको नारायण नगरपालिका र नौमुले गाउँपालिका हुँदै कालिकोट प्रवेश गर्नेछ ।
कालिकोटको तिलागुफा नगरपालिका र महावै गाउँपालिका पार गरेर जुम्लाको हिमा र तातोपानी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिका–९ स्थित बयलकटियामा निर्माण हुने सबस्टेसनमा पुगेर यो खण्ड टुंगिनेछ ।
आयोजनाअन्तर्गत दैलेख, कालिकोट र जुम्लामा १३२ र ३३ र ११ केभी क्षमताका सबस्टेसन निर्माण गरी स्थानीयस्तरमा गुणस्तरीय र भरपर्दाे विद्युत आपूर्ति गर्ने लक्ष्य राखिएको छ । विद्युत विकास विभागका अनुसार उक्त खण्ड निर्माणका लागि कुल १ सय ५० दशमलव ३३ हेक्टर जमिन आवश्यक पर्नेछ । त्यसमध्ये २ सय ७९ वटा टावरका स्थायी संरचना निर्माण गर्न मात्रै करिब १२ दशमलव ४ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेछ । यसबाहेक १३२ दशमलव ६९ हेक्टर जमिन प्रसारण लाइनको राइट अफ वे अर्थात् विद्युत मार्गको अधिकार क्षेत्रका रूपमा उपयोग हुनेछ ।
विद्युत नियमावली, २०५० मा तोकिएको मापदण्डअनुसार प्रसारण लाइनको मध्यविन्दुबाट दायाँ र बायाँ नौ–नौ मिटर गरी न्यूनतम १८ मिटर क्षेत्राधिकार कायम गरिने प्राविधिक मापदण्ड छ ।




खुल्ला प्रेस । १४ कार्तिक २०८३, शुक्रबार १६:४१