काठमाडौंः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहे पनि भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद् प्रभावित क्षेत्रमा न्यून रकम मात्रै निकासा भएको छ ।
विपद् प्रभावित क्षेत्रका स्थानीय तहमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जानकारी दिए ।
तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत प्रभावित जिल्लाका स्थानीय तहहरूमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उनको भनाइ छ । सो रकममध्ये १३ करोड ५० लाख रुपैयाँ भने स्थानीय तहमा नै पुगिसकेको उनले जानकारी दिए ।
राष्ट्रियसभाअन्तर्गतको भोटेकोसी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विपद् व्यवस्थापनका लागि उपलब्ध गराइएको रकम र कोषमा रहेको मौज्दातबारे जानकारी गराइएको थियो । उनले जटिल कानुनी व्यवस्थाका कारण कोषको रकम निकासामा केही समस्या भएको बताए ।
“दुई कोषमा अहिलेसम्म १८ अर्ब २८ करोड ५ लाख ३२ हजार ५ सय ९३ यति रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब र प्रधानमन्त्री राहत कोषमा २६ करोड गरेर १८ अर्ब गरी यो रकम मौज्दात छ,” उनले भने, “हालसम्म एनडीआरआरएमएले प्रभावित जिल्लाका स्थानीय तहहरूलाई २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको अवस्था छ । अहिले हेर्दाखेरि १३ करोड ५० लाख चाहिँ पालिकाहरूमा पुगिसकेको अवस्था देखिन्छ ।”
उनका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ अनुसार कोष सञ्चालन तथा रकम परिचालन हुँदै आएको छ । कोषको रकम प्रदेश, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
कानुनी प्रक्रियाअनुसार एक अर्ब रुपैयाँ सम्बन्धित विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहहरूलाई रकम उपलब्ध गराएको उनको भनाइ छ । कोषमा रकम जम्मा हुने र खर्च हुने विवरण अनलाइन प्रणालीमार्फत अभिलेख राखिने भएकाले वित्तीय कारोबारको विवरण हेर्न सकिने उनले बताए ।




खुल्ला प्रेस । १३ कार्तिक २०८३, बिहीबार १६:५३