
सुर्खेतः जाजरकोटकाे एक विद्यालयमा पुस्तकालय अनुदानकाे रकम दुरुपयोग गरेकाे आराेपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । कुशे गाउँपालिका-२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/०७४ सम्मको जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानबापतको रकम विद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले सापटी लिएको तर फिर्ता नभएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा उजुरी परेकाे थियाे ।
उक्त उजुरीका आधारमा अनुसन्धान थालेकाे अख्तियारले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह, तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंहले हिनामिना गरेकाे भेटिएकफ भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
बिहिबार अख्तियारद्वारा विशेष अदालतमा दायर भएकाे अभियाेगपत्रमा बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाई विद्यालयको १७ लाख ४१ हजार ४४६ रूपैयाँ हिनामिना गरेकाे आराेप लगाइएकाे छ । अख्तियार प्रवक्ता सुरेश न्याैपानेका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैसीसँग १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगाे मागदाबी गरिएकाे छ ।
यस्तै, तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य नेपालीसँग एक लाख, तत्कालीन लेखा सहायक सिंहसँग १७ लाख ४१ हजार ४४६ र पूर्वप्रधानाध्यापक सिंहसँग १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगाेसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ अनुसार सजायकाे मागदाबी अख्तियारले गरेकाे छ ।




खुल्ला प्रेस । १३ कार्तिक २०८३, बिहीबार १७:०६