
दैलेख: स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको दुल्लु नगरपालिकामा प्रथम दुल्लु प्रिमियर लिग (डीपीएल) टी-२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।
कञ्चन कर्णाली युवा क्लबको आयोजना तथा AYC Nepal को सहआयोजनामा जिल्ला क्रिकेट संघ दैलेखको समुन्वय, दुल्लु नगरपालिका र दुल्लु नगर खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगिता आगामी २०८३ साल कात्तिक १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले निर्धारित समयभित्र टिम दर्ता गराउनुपर्नेछ। टिम दर्ताका लागि तीन हजार रुपैयाँ शुल्क तोकिएको छ। टिम दर्ताको अन्तिम मिति २०८३ साल कात्तिक १५ गते साँझसम्म रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामार्फत स्थानीय क्षेत्रमा क्रिकेट खेलको विकास गर्नुका साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ। त्यस्तै, खेलकुदको माध्यमबाट युवाहरूबीच आपसी सद्भाव, अनुशासन, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने लक्ष्य कञ्चन कर्णाली युवा क्लबका अध्यक्ष नर बहादुर खड्काले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टिमले नगद ३५ हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्ने व्यवस्था गरिएको छ। यसबाहेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ। सहभागी सबै टिमलाई सहभागिताको प्रमाणपत्रसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने प्रत्येक टिमले सम्बन्धित वडा कार्यालयबाट सहभागी खेलाडीहरूको नामावली उल्लेख गरिएको सिफारिसपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, प्रत्येक वडाबाट एउटा मात्र टिम सहभागी गराइने व्यवस्था गरिएको छ। निर्धारित समयसीमापछि प्राप्त हुने टिम दर्ता निवेदन स्वीकार नगरिने आयोजकले स्पष्ट पारेको छ।
खेल तालिका, प्रतियोगिता सञ्चालनसम्बन्धी नियमावली तथा अन्य आवश्यक जानकारी आयोजकले उपलब्ध गराउनेछ। प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो खाना, खाजा तथा बासको व्यवस्थापन आफैँ गर्नुपर्ने सूचनामा उल्लेख छ। खेलका क्रममा खेलाडी घाइते भएमा प्राथमिक उपचारबाहेक अन्य उपचारको जिम्मेवारी आयोजकले नलिने र खेलाडी स्वयं जिम्मेवार हुनुपर्ने पनि जनाइएको छ।
स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्दै क्रिकेटको माध्यमबाट दुल्लु क्षेत्रको खेलकुद पहिचान स्थापित गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।
आयोजक कञ्चन कर्णाली युवा क्लबले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीय युवा, सरोकारवाला निकाय तथा सम्पूर्ण खेलकुदप्रेमीलाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।




खुल्ला प्रेस । १३ कार्तिक २०८३, बिहीबार १८:१२