स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी । यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलुका साढे ७ः०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए ।

कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको इन्चार्ज धामीले बताए । घटनापश्चात हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट धामीलगायत चार जनाले धुनसेविरुद्ध प्रहरी चौकी पुरघाट निवेदन दिएका छन् ।

हातपात र गालीगलौज गरेको भन्दै चार जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए । उनले भने, ‘हातपात र गालीगलौज गरेको भनेर चार जना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्, घटना के हो, के कारणले घटना भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ ।’ हातपात र गालीगलौज गर्ने धनुसे भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५