दैलेखः नेकपाका केन्द्रीय संयोजन समिति सदस्य तथा संगठन विभाग प्रमुख वर्षमान पुन आत्मआलोचना सहित जनतामा जाने बताउका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेख जिल्ला समितिको दोस्रो पूर्ण बैठक तथा अगुवा नेता–कार्यकर्ता प्रशिक्षण कार्यक्रम प्रमुख अतिथिका रुपमा बोल्दै उनले नेकपा आत्मआलोचना सहित जनतामा जाने बताएका हुन ।
दैलेखमा नेकपाको बैठकले पार्टीको आगामी राजनीतिक दिशा र ‘राष्ट्रिय जागरण अभियान’ लाई केन्द्रबिन्दुमा राखेर स्थानीय तहदेखि वडा र टोल बस्तीसम्मै पार्टीको संगठन सुदृढ गर्ने महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।
अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन जिल्ला इन्चार्ज प्रेमबहादुर कटुवाल क्षेत्रीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कमान्ड टोली गठन गरिएको छ। जिल्लाका ११ वटै स्थानीय तहमा पालिका कमान्ड र ९० वटै वडामा महिला, दलित, जनजाति र युवाको अनिवार्य प्रतिनिधित्वसहितको समावेशी वडा कमान्ड टोली परिचालन गरिने भएको छ। अभियानका क्रममा हुने जनभेटघाट, सदस्यता नवीकरण तथा संगठन विस्तारका गतिविधिहरूलाई दुरुस्त राख्न कमान्डरहरूलाई विशेष ‘अभियान डायरी’ समेत हस्तान्तरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पार्टीका केन्द्रीय संयोजन समिति सदस्य तथा संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ ले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न पूर्ण रूपमा असफल भइसकेको आरोप लगाए। पार्टीले अब गल्तीहरूको आत्मआलोचना गर्दै जनताको बीचमा जानुपर्ने र जनस्तरमा जागरण ल्याउनुपर्नेमा उनले जोड दिए। सरकारका जनविरोधी क्रियाकलापहरूको कडा विरोध र राम्रा कामहरूको समर्थन गर्ने नीति पार्टीले लिने स्पष्ट पार्दै नेता पुनले यस राष्ट्रिय जागरण अभियानले जनताको गुमेको विश्वास पुनः आर्जन गर्ने विश्वास व्यक्त गरे। कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही र सह–इन्चार्ज अमरबहादुर थापाको विशेष उपस्थिति रहेको उक्त बैठकमा दैलेखस्थित विभिन्न कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो।
बैठकले अभियानलाई सफल पार्न मङ्सिर ५ गते सबै वडामा राष्ट्रिय जागरण अभियानको उद्घाटन तथा वडा समितिको पूर्ण बैठक सम्पन्न गर्ने, मङ्सिर ५ देखि १५ गतेसम्म वडास्तरमा जनभेटघाट, पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा युवाहरूलाई अभियानमा जोड्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसैगरी, मङ्सिर १५ देखि २२ गतेसम्म विभिन्न जनवर्गीय संगठनका जिल्ला तहका भेला तथा बैठकहरू सम्पन्न गर्ने, मङ्सिर २२ गतेभित्र जिल्लाका ११ वटै पालिका समितिले आ-आफ्नो पालिकामा सञ्चालित अभियानको समग्र प्रगति प्रतिवेदन जिल्ला कार्यालयमा बुझाउने र मङ्सिर २५ गतेभित्र जिल्ला समितिले समग्र प्रतिवेदन तयार गरी प्रदेश र केन्द्रमा पठाउने कार्यतालिका तय गरिएको छ।
दैलेख बसाइको क्रममा नेता पुनले जिल्ला पार्टी कार्यालयको अवलोकन, कमान्ड टिमसँगको छलफल, पत्रकार सम्मेलन तथा दैलेखको महत्त्वपूर्ण पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको स्थलगत अवलोकन भ्रमणसमेत सम्पन्न गरेका छन्। जिल्ला इन्चार्ज कटुवालले पार्टी निर्माण र संगठन सुदृढीकरणको यस अभियानमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हार्दिक अपिल गरेका छन्।




खुल्ला प्रेस । ३ मंसिर २०८३, बुधबार २१:१८