काठमाण्डाैँः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको रोमाञ्चक जितमा उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो व्यक्तिगत सफलताको खुसी सडकका जनावरसँग बाँड्ने भएका छन्।
बिहीबार विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई चार विकेटको जित दिलाउन महत्वपूर्ण योगदान गरेका सोमपालले प्लेयर अफ द म्याचबापत प्राप्त पाँच हजार रुपैयाँ सडकमा अलपत्र परेका जनावरको संरक्षण तथा सहयोगका लागि दान गर्ने घोषणा गरेका हुन्।
उनले उक्त रकम सिर्जना ठकुरीलाई सहयोगस्वरूप प्रदान गर्ने बताएका छन्। सडकमा रहेका असहाय जनावरको संरक्षण र हेरचाहमा सघाउने उद्देश्यले आफूले पुरस्कार रकम सहयोग गर्ने उनको भनाइ छ।
विराटनगरविरुद्ध सोमपालले ब्याटिङमा ६२ रन बनाउनुका साथै बलिङमा चार विकेट लिएका थिए। उनको अलराउन्ड प्रदर्शन कर्णालीको जितमा निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच घोषित भएका थिए।
खेलपछि सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गर्दै सोमपालले व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको बताएका छन्।
‘यो रात क्रिकेटका लागि मात्र थिएन। कठिन परिस्थितिमा पनि हार नमानी महत्वपूर्ण समयमा आफ्नो प्रदर्शनबाट जवाफ दिनु विशेष अनुभूति हो। व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो कर्णाली याक्स परिवारका लागि जित निकाल्नु र त्यसमा योगदान दिन पाउनु ठूलो खुसी हो,’ उनले लेखेका छन्।
कर्णाली याक्सको जर्सी लगाएर फ्रेन्चाइजका लागि खेल्न पाउनु सम्मानको विषय भएको उल्लेख गर्दै उनले आफ्नो सफलताको खुसी असहाय जनावरहरूसँग बाँड्न पाउँदा थप सन्तुष्टि मिल्ने बताएका छन्।
‘हरेक सानो पाइलाको पनि महत्व हुन्छ,’ सडकका जनावरको संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनले लेखेका छन्।




खुल्ला प्रेस । १४ कार्तिक २०८३, शुक्रबार १७:०३