दैलेख: कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य विधाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको नौमूले गाउँपालिकामा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मेलन २०८३’ आयोजना हुने भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते दुई दिने सम्मेलन हुन लागेको हो।
सम्मेलनको तयारी तथा उद्देश्यबारे जानकारी दिन आज दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कार्यक्रमको विस्तृत रूपरेखा प्रस्तुत गरे । उनका अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाका मौलिक लोक नृत्य र लोक नाट्य एउटै मञ्चमा प्रदर्शन गरिनेछ, जसले लोपोन्मुख सांस्कृतिक विधाहरूलाई पुनर्जीवन दिने अपेक्षा गरिएको छ ।
हमालले सम्मेलनलाई तीन मुख्य सत्रमा विभाजन गरिएको जानकारी दिए । उनका अनुसार पहिलो सत्रमा कर्णालीको लोक नृत्य तथा संस्कृतिको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गहन अन्तरक्रिया तथा गोष्ठी हुनेछ । दोस्रो सत्रमा १० वटै जिल्लाका विशिष्ट लोकसङ्गीत, लोक नृत्य तथा नाट्यका स्रष्टा र सर्जकहरूलाई विशेष सम्मान प्रदान गरिनेछ भने तेस्रो सत्रमा मौलिक कला–संस्कृतिका विविध प्रस्तुति मञ्चन गरिनेछ।
उनले यस वर्षको सम्मेलनमा दैलेख जिल्लाको कला र संस्कृतिलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिने समेत स्पष्ट पारे।
नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले भौगोलिक विकटताका बाबजुद पनि गाउँपालिकाले कार्यक्रमको भव्य तयारी गरिरहेको बताए। उनले व्यवस्थापन चुनौतीपूर्ण भए पनि कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए। “पाहुनाहरूको खाना, बसोबास र सुरक्षाका लागि आवश्यक तयारी गरिएको छ,” अध्यक्ष सुवेदीले भने, “व्यवस्थापनको कुनै पक्षमा पनि हामी कमजोर हुने छैनौँ।”
उनका अनुसार स्थानीय तहले कार्यक्रमका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन—खाना, बसोबास तथा आतिथ्य—को खर्च व्यहोर्नेछ भने कलाकारहरूको यात्रा खर्च, स्रष्टा सम्मान तथा प्राविधिक खर्च प्रज्ञा प्रतिष्ठानले व्यवस्थापन गर्ने गरी सहकार्य गरिएको छ।
कार्यक्रमबारे जानकारी दिँदै आयोजकहरूले कर्णाली प्रदेश कला, संस्कृति र लोक परम्पराको धनी क्षेत्र भए पनि यसको उचित पहिचान र प्रवर्द्धन अपेक्षित रूपमा हुन नसकेको बताए। पुस्तान्तरणको अभावका कारण मौलिक कला–संस्कृति लोप हुने जोखिम बढ्दै गएको अवस्थामा यस्तो सम्मेलनले संरक्षण र पुनर्जीवनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले कर्णाली लोककला र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने भए पनि यसको निरन्तरता र दस्तावेजीकरण अपरिहार्य रहेको सुझाव दिएका थिए । साथै, स्थानीय तहमा कार्यक्रम लैजाँदा मौलिक कलाकारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएकाले यसले सांस्कृतिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो ।
सम्मेलनमा दैलेखका ११ वटै स्थानीय तहका सांस्कृतिक समूहहरूको सहभागिता रहनेछ भने कर्णाली प्रदेशका अन्य नौ जिल्लाबाट समेत कलाकारहरूले आफ्ना मौलिक नृत्य, गीत तथा नाट्य प्रस्तुति प्रदर्शन गर्नेछन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कर्णालीको मौलिक सांस्कृतिक सम्पदाको अनुसन्धान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यअनुसार यो कार्यक्रम आयोजना गरिएको जनाएको छ।




खुल्ला प्रेस । १ बैशाख २०८३, मंगलवार २०:०१