दैलेखः दैलेखको ठाटीकाँध गाउँपालिका-५ स्थित सिर्जनशील युवा क्लबले देउसी भैलो खेलेर संकलन गरेको रकम क्यान्सर पीडितलाई सहयोग गरेको छ।
क्लबले तिहारको अवसरमा कार्तिक २४ देखि २६ गतेसम्म गाउँमा देउसी भैलो खेलेर संकलन गरेको ५ हजार ५ रुपैयाँ ठाटीकाँध गाउँपालिकाका स्थानीय क्यान्सर पीडित धिरबहादुर शाहीलाई प्रदान गरेको हो। उक्त रकम पीडित शाहीका भाइ डम्बरबहादुर शाहीमार्फत परिवारलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष प्रकाश शाहीले जानकारी दिएका छन् । शाहीका अनुसरा यस अघि उनको उपचारको लागि सहयोग अभियान चलाएको थियो । अभियान निरन्तर रुपमा चलेको छ ।
मुखको क्यान्सरबाट पीडित शाही करिब ४ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचारत छन्। उनको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगका लागि अपिल गरेको छ।
घरको आर्थिक अवस्था कमजोर रहेका कारण उपचार खर्च जुटाउन कठिनाइ भइरहेको परिवारले जनाएको छ। उपचारलाई निरन्तरता दिन परिवारले सामाजिक सञ्जालमार्फत समेत सहयोगको याचना गरेको छ।
तिहारमा देउसी भैलोबाट संकलित रकम मनोरञ्जन तथा अन्य गतिविधिमा खर्च नगरी मानवीय सेवामा समर्पित गर्दै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। सानो सहयोगले पनि पीडामा रहेका व्यक्तिलाई ठूलो राहत पुग्न सक्ने भन्दै क्लबको यस कार्यको स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह भएको छ ।




खुल्ला प्रेस । २ मंसिर २०८३, मंगलवार १९:१०