सुर्खेतः कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनाको समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित ‘रुग्ण आयोजना समीक्षा, समस्या समाधान तथा आयोजना सम्पन्नता’ सम्बन्धी छलफलमा उनले विकास निर्माणका काममा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने बताए ।
निर्माण व्यवसायीका वास्तविक समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै उनले काम सम्पन्न गर्न देखिएका अवरोधबारे सम्बन्धित जिल्ला कार्यालय र मन्त्रालयमा आएर स्पष्ट छलफल गर्न सकिने उल्लेख गरे उनले निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाउने तर कार्यप्रगति नदेखाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै आवश्यक सहजीकरण गर्दा पनि जिम्मेवारी पूरा नगर्ने र काम अगाडि नबढाउने प्रवृत्तिलाई निरन्तर छुट दिन नसकिने बताए ।
सरकारी निकायले आवश्यक सहजीकरण गर्ने र निर्माण व्यवसायीले सम्झौता अनुसार काम सम्पन्न गर्ने प्रतिबद्धता व्यवहारमा देखाउनुपर्ने मन्त्री रोकाको भनाइ थियो । उनका अनुसार रुग्ण आयोजनालाई समयमै सम्पन्न गरी विकास निर्माणका कामलाई परिणाममुखी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको छ ।
कर्णाली प्रदेशका बहुसरोकार प्रभाव पार्ने १९ वटा ठुला विकास आयोजनाहरू रुग्ण बनेका छन् । रुग्ण आयोजना बन्नुको मुख्य कारण निर्माण व्यवसायीको चरम लापरबाही बताइएको छ । स्थानीयको विवाद, भोगाधिकार र रुख कटानको आदेश नहुनुले पनि आयोजना रुग्ण बन्न पुगेको कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।
१९ वटा रुग्ण आयोजनामध्ये १६ वटा त निर्माण व्यवसायीले समयमै काम नगरी लापरर्बाही गरेको जनाइएको छ । जग्गा भोगाधिकार र रुख कटान आदेश प्राप्त नभएकोले सुर्खेतको रानीघाट–भुरीगाउँ–तेलपानी सडक, पर्याप्त बजेट विनियोजन नभएको र निर्माण व्यसायीको लापर्बाहीले सुर्खेतकै घाटगाउँ–गुठु–साल्म–कोइरालाबास सडक, साइट उपलब्धता हुन नसक्दा सुर्खेतकै सवारी साधन ट्रायल सेन्टर निर्माणको आयोजनालाई रुग्णमा राखिएको छ ।
यसै गरी निर्माण व्यवसायीहरूको चरम लापर्बाहीका कारण दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका हुँदै जाजरकोट जोड्ने सडक, दैलेखको साङ्गेतडा–विन्द्रासैनी–चामुण्डा सडक, हुम्लाको लालीबगर औलाथली मोटरेबल पुल, हुम्लाको याँचु बजार(पालिका केन्द्र) देखि तुमलिक मोटरेवल पुल, खार्पूनाथ गाउँपालिका हुम्ला सडक पुल, जाजरकोटको बारेकोट–८, सागुतरा र नलगाड–५, सिर्के जोड्ने मोटरेबल पुल, जाजरकोटकै साल्मा खोला पुल, जाजरकोटकै छेडा थालह सनाखोला चाँदे जुम्ला सडक, जुनिचाँदे–सनाखोला चाँदे जुम्ला सडक खण्डको ३० किमी, जाजरकोटको कालिमाटी–खालचौर–नेटिलेख– सडक खण्डको सक्लाखारी बयाले लिम्सा सडक, कालीकोट सेरी पान्तडी पादमघाट जुम्ला सडक (बहुवर्षीय योजना समेत), कालीकोटकै पँलाको दाम्रीगाड पक्की पुल, जारकोट पक्की पुल, बारातु सियाला रेगिङ्ल रोड, मुगुको दोमुख तारापानी गमगढी नाक्चे लाग्ने सडक, दोमुख पक्की पुल र रुकुम पश्चिमको छेराबगर पक्कीपुललाई रुग्ण आयोजनामा राखिएको छ ।
यस्तै स्थानीय विवादका कारण डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिप्ला गाउँ हुँदै थरगाउँ काँडातालीसम्मको सडक पनि रुग्ण बनेको मन्त्रालयले जनाएको छ । यी आयोजनाहरू २०७७ देखि २०८० सालभित्रका हुन् । यी आयोजनाको प्रगति तीन प्रतिशतदेखि ५० प्रतिशतसम्म रहेको छ । प्रदेशको विकासमा निकै महत्व राख्ने यी आयोजनाहरू रुग्ण बनेपछि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले निर्माण व्यवसायीहरूसँग बसेर तत्काल काम सुरु गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका सचिव अर्जनकुमार बमले पटक पटक म्याद थप गर्दा पनि प्रगति नदेखिएका योजनालाई कानुनबमोजिम अगाडि बढ्ने स्पष्ट बारे। म्याद थप गर्ने काम नगर्ने प्रवृत्ति अब रोकिनु पर्छ, काम नगर्ने निर्माण व्यवसायीलाई छुट हुँदैन भन्दै उनले जिम्मेवारी पूरा नगर्ने कार्यालय प्रमुखलाई पनि मन्त्रालयले गम्भीर रूपमा लिएको बताए । उनका अनुसार हाल कर्णालीका आठ वटा जिल्लामा १९ वटा रुग्ण आयोजना छन् । केहीको प्रगति शून्य छ भने केहीको प्रगति थोरै मात्रामा भएको मन्त्रालयले जनाएको छ । गाेरखापत्र




खुल्ला प्रेस । १७ कार्तिक २०८३, सोमबार १९:०४