दैलेखः नारायण नगरपालिकाले असल आमालाई पुरस्कृत गरेको छ । २० वर्ष उमेर पुगेपछि विवाह गरेका र दुई सन्तान जन्माएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका र पोर्टकलअनुसार गर्भजाँच गराएका ४२ जना असल आमालाई बुधवार नगद दुई हजार रुपियाँ र प्रमाणपत्रले सम्मानित गरेको हो ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक लालबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीको सिफारिसमा पाँच वटा मापदण्ड पुगेका असल आमालाई पुरस्कृत गरिएको जानकारी दिए ।
उनले केही वडाका असल आमाहरूलाई पुरस्कृत गरिएको र केही वडाका बाँकी रहेको बताए। नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले गुणस्तरीय स्वास्थ्य सेवा लिन, बच्चालाई पोषणयुक्त खाद्यवस्तु खुवाउन, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, कुपोषण हुनबाट बचाउन सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम नगरपालिकाले सञ्चालन गरिरहेको जानकारी दिए ।
असल आमा पुरस्कृत तथा सम्मान कार्यविधिमा उल्लेख गरिएका पाँच वटा मापदण्ड पूरा गर्ने आमाहरूलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरिएको उनले जानकारी दिए उनले भने, “गर्भ बसेदेखि बच्चा जन्मेको दुई वर्षभित्र उसले पाउनु पर्ने सबै सेवा सुविधा लिएको आधारमा पुरस्कृत गर्ने गरिएको छ ।”




खुल्ला प्रेस । १४ असार २०८०, बिहीबार २०:१५