
दैलेख : सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले आफूलाई विशेष परिस्थितिमा विशेष कामका लागि मन्त्री बनाइएको बताएका छन् । आइतबार गृह जिल्ला दैलेखमा त्रिभुवन मावि पूर्वविद्यार्थी एकता मञ्चले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा मन्त्री कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगो लाग्ने दावी गरे।
‘लामो समयसम्म नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुग्न नसक्दा धेरै पीडा दियो, त्यहि पीडालाई हल गर्नको निम्ति धेरै मान्छेलाई जिम्मा दिइयो, सम्भव भएन्,’ मन्त्री कोइरालाले भने, ‘अहिले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी मलाई दिइएको छ ।’
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दिएको जिम्मेवारी पूरा गर्न आफू आएको मन्त्री कोइरालाको भनाइ छ । मन्त्री कोइराला द्वन्द्वकालीन मुद्दाहरूमा वर्षौंदेखि काम गरिरहेका छन् । उनी यो विषयका जानकार पनि हुन् ।
उनले विद्यार्थीकालमा जिल्लामा गरेको राजनीतिको सम्झना गर्दै आफूहरुले तत्कालिन अवस्थामा व्यवस्थाविरुद्ध नभइ ज्यादतीविरुद्ध विभिन्न आन्दोलन गरेको बताए । उनले अहिले विभिन्न व्यक्तिहरु राजनीतिक दलमा लागेको भन्नुभन्दा पनि समाजको परिवर्तनका लागि लागिपरेको उल्लेख गरे ।
अर्को प्रसंगमा मन्त्री कोइरालाले जिल्लामा आफूसँगै पढेका सहपाठीहरु कार्यालय सहायक, कार्यालयप्रमुखदेखि नगरपालिकाको मेयर उपमेयर रहेको बताउँदै आफू गर्भवान्वित भएको बताए ।
मन्त्रीसहित मन्त्रालयका सचिव र सह–सचिवको टोली दैलेख आइपुगेको हो । आजै जिल्ला सदरमुकाममा जातीय छुवाछुत विरुद्धको कार्यक्रम आयोजना गरिएको छ ।
सोहि प्रसंगमा मन्त्री कोइरालाले जातीय छुवाछुतको समस्या देशकै समस्या भएको बताए । ‘हामीले कुकुरलाई पूजा गरेर उस्तै परे कुकुरको पाउ छुन्छौं, तर समान हैसियतका मान्छेले मान्छेलाई विभेद गर्छौं, उनले,’ त्यसको अन्तत्य नगरी समाज अगाडि बढ्दैन् ।’
जातीय विभेद सत्ता चलाउन आफु मालिक बनिरहन अरुलाई दास बनाउने प्रवृतिमात्र भएको बताए । कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, उपमेयर तप्ताकुमारी थापा खड्का लगायतले शुभकामना दिएका थिए ।



खुल्ला प्रेस । ५ असार २०७९, आईतवार २१:३२