दैलेखः दैलेख समृद्धिको खाका कोरिएको छ । कर्णाली प्रदेशमा जनसंख्याको आधारमा दोश्रो ठूलो जिल्ला दैलेखले ‘समृद्ध दैलेख नामक’ प्रस्तावित गुरूयोजना २०८१ ड्राफ्ट सार्वजनिक गरिएको हो । सात गाउँपालिका र चार नगरपालिका रहेको दैलेखको सर्वाङ्गीण विकास गर्ने प्रमुख उद्देश्य राखेर आगामी पन्ध्र वर्षमा जिल्लालाई विकासको अधिकतम चरणमा पुर्याउने योजना गुरुयोजनामा समेटिएको छ । शनिबार जिल्ला समन्वय समितिको आव्हानमा भएको एक कार्यक्रममा प्रस्तावित गुरूयोजना सार्वजनिक गरियो ।
कार्यक्रममा दैलेख जिल्लाबाट प्रतिनिधित्व गरेका नेपाल सरकारका वर्तमान र पूर्व मन्त्रीहरू, संघीय संसद्का वर्तमान र पूर्व सदस्यहरू, कर्णाली प्रदेश सरकारका वर्तमान र पूर्व मन्त्रीहरू, कर्णाली प्रदेशसभाका वर्तमान र पूर्व सदस्यहरू, जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख, जिल्ला समन्वय समिति दैलेख र ११ वटै पालिकाका प्रमुख एवं अध्यक्ष, उपप्रमुख एवं उपाध्यक्ष सहभागी थिए ।
यसैगरी, जिल्लास्थित सुरक्षा निकाय र विकास निर्माण सम्बद्ध कार्यालयका प्रमुखहरू, सार्वजनिक प्रशासनमा कार्यरत दैलेखी उच्चपदस्थ कर्मचारीहरू, जिल्लाको सामाजिक, आर्थिक र पूर्वाधार विकास निर्माणमा योगदान पुर्याएका सामाजिक संघ संस्थाका प्रमुख लगायत सहभागी थिए । उनीहरूबाट थप सूचना संकलन गरिएको छ ।
किन बनाइयो गुरुयोजना ?
गुरूयोजना बनाउनुको मुख्य कारण जिल्लाको विकास क्रियाकलापलाई प्रभावकारी बनाउने ध्येय नै हो । यसमा विकासको आवश्यकता, आकांक्षा, प्राथमिकतालाई सम्बोधन गर्ने, उपलब्ध साधन, स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्ने, सन्तुलित र समावेशी विकास गर्ने, दिगो विकासको लक्ष्य हासिल गर्ने, आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका विशेष योजना तथा कार्यक्रम केन्द्रित हुने, विकास क्रियाकलापमा दोहोरोपन रोक्ने उद्देश्य गुरूयोजनाको छ ।
यस्तै, जिल्लाको आय, उत्पादन र रोजगारी बढाउने, विकास क्रियाकलापमा सबै वर्ग र पक्षको अपनत्व कायम गर्ने, गुणस्तरीय आर्थिक, सामाजिक तथा पूर्वाधार सेवाको व्यवस्था गरी बढ्दो बसाइँसराइ निरुत्साहित गर्ने विषय गुरुयोजनामा समेटिएको छ ।
गुरूयोजनालाई जिल्लाको विकास क्रियाकलापको मार्गदर्शन बनाउन, दैलेख जिल्लालाई विकासको नमूना जिल्ला बनाउन, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने जस्ता उद्देश्य गुरूयोजनाले समेटेको छ ।
यद्यपि, गुरूयोजना अपेक्षा गरेअनुरुप निर्माण गर्न नसकिएको औँल्याइएको छ । प्रत्येक योजना तथा कार्यक्रमको विषयमा विस्तृत सूचना संकलन गर्न नसकिएको, सम्बन्धित विषय विज्ञको सहभागिता र औपचारिक संलग्नता गराउन नसकिएको, योजना तथा कार्यक्रमहरूको अनुमानित परिमाण, लागत र सम्पन्न समय निर्धारण गर्न नसकिएको, वडास्तर वा पालिकास्तरबाटै सम्बोधन हुनसक्ने न्यून लागतका योजना तथा कार्यक्रम समावेश नगरिएको, गुरूयोजना तोकिएको निर्माणमा वैज्ञानिक र व्यवस्थित विधि अवलम्बन गर्न नसकिएको उल्लेख गरिएको छ ।
के भन्छन् सरोकारवाला ?
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अब सबै दल, सबै सरोकारवाला निकायले यही गुरूयोजनाको आधारमा विकास निर्माणका लागि आवश्यक पहल गर्ने बताए ।
‘यसअघि हामीले दैलेख जिल्लाको विकासमा सबै एकताबद्ध भएर लागेको पाएनौं । अब हामी सबै एकताबद्ध भई प्राथमिकीकरण गरिएका योजना अनुसार अघि बढेको खण्डमा दैलेखलाई नमूना विकास जिल्लाको रूपमा हामी अघि बढाउन सक्छौं’, दैलेखबाट प्रदेशसभा निर्वाचित भण्डारीले भने ।
उनका अनुसार अहिलेसम्म दर्जनौं सिंचाई योजना अलपत्र छन् । खानेपानी आयोजना अलपत्र छन् । अन्तरजिल्ला जोड्ने सडक अलपत्र तथा अधुरा छन् ।
‘ती सबै योजनालाई पूर्णता दिन अब एकीकृत गुरूयोजना आवश्यक देखियो र दैलेखकै स्थानीय व्यक्ति जिल्ला प्रशासन कार्यालय प्रमुखको रूपमा आएको अवस्थामा काम गर्न सहज हुने अपेक्षा हाम्रो हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर हामी सबैले यो कदम अघि बढाएका हौं’, मन्त्री भण्डारीले भने ।
संघीय सांसद एवं शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर थापाले दैलेखको सर्वाङ्गीण विकासका लागि एक योजना आवश्यक परेको र त्यो आवश्यकतालाई परिपूर्ति गर्न यो गुरूयोजना बनाइएको बताए ।
‘दैलेखको विकासमा अब राजनीतिक दलहरूको चाहना मात्रै नभई यसमा समेटिएका आमदैलेखी जनताका अपेक्षा अनुरूपका दीर्घकालीन योजना निर्माण गर्न सबै दलहरू, सबै तप्काहरू लाग्नुपर्ने देखिन्छ । त्यस्तो गर्न सकिएको खण्डमा जनताको आवश्यकता अनुसार विकास कार्यक्रम पाउँछन् र दैलेखको विकास गर्न सकिन्छ’, थापाले भने, ‘अब सबै राजनीतिक दलहरू व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर यो योजना कार्यान्वयनमा लाग्नुपर्छ । यही योजनामा टेकेर दैलेखमा विकासका गतिविधि भए भने दैलेखलाई नमूना जिल्लाको रूपमा स्थापित गर्न सकिन्छ भन्ने हामी सबैको निष्कर्ष हो ।’
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले जिससले गुरूयोजना निर्माणका लागि सुझाव संकलन गरिएको बताए । ‘हामीले प्रारम्भिक छलफल गरेका हौं । विस्तृत गुरूयोजना बनाइसकिएको छैन । त्यसका लागि आवश्यक सुझाव दिन हामीले दैलेखका नागरिकदेखि विज्ञसम्मलाई अनुरोध गरेका छौं’, समन्वय प्रमुख शाहीले भने, ‘त्यसका लागि ईमेल गर्ने वा ह्वाटसएपमा म्यासेज गर्ने व्यवस्था मिलाएका छौं ।’
उनले जिससले सबै पक्षको राय सुझावका आधारमा खाका मात्रै तयार गरेको बताउँदै यसले आगामी यात्राका लागि सहजता प्रदान गर्ने बताए ।
खुल्ला प्रेस । १४ माघ २०८१, सोमबार ०७:१९