खच्चडबाट सामाग्री ढुवानी गरी गाउँमा खानेपानी पुर्याइदै

जाजरकोट: नलगाड नगरपालिकामा खानेपानीको सामग्री खच्चडले ढुवानी गरी गाउँमा खानेपानी निर्माण गरिँदै छ । भौगोलिक विकटता र अभावले पिल्सिएको जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा खानेपानीको सामाग्री खच्चडबाट ढुवानी गरिएको छ ।

गाउँमा यातायातको सहज पहुँच नहुँदा खच्चडबाट खानेपानीको निर्माण सामाग्री ढुवानी गरिएको हो । सडक र बिजुलीको सुविधा अहिलेसम्म नपुगेको नलगाड-१ को पुवाडाँडा र नलगाड-७ को खेतगैरी क्षेत्रमा सोसेक नेपाल र आइ.आर. नेपालको साझेदारीमा सञ्चालित वास रिकभरी प्रोजेक्ट मार्फत घर-घरमा शुद्ध खानेपानी पुर्‍याउने उद्देश्यले हाल काम भइरहेको छ । मोटर बाटोको पहुँच नहुँदा पाइप लगायतका निर्माण सामग्री ढुवानी गर्न स्थानीयहरूले खच्चडको प्रयोग गरिरहेका छन्, जसले दुर्गममा विकास पुर्‍याउन कति कष्टपूर्ण छ भन्ने कुरा प्रस्ट पार्छ।

पुवाडाँडा र खेतगैरी क्षेत्रमा सञ्चालित यी आयोजनाहरूमा समुदायको सक्रियता लोभलाग्दो छ। २४ लाख २८ हजारमा बन्दै गरेको खेत गैरी खानेपानी आयोजनामा १७ लाख ७९ हजार अनुदान छ । बाँकी रकम स्थानीयले श्रमदान गर्नुपर्छ । ५२ लाख ५८ हजारमा बन्दै पुवाडाँडा खानेपानी आयोजनामा स्थानीयले १२ लाख ५८ हजार श्रमदान गर्नेछन् । यता नलगाड-८ मा पर्ने काफलधारा मैदे खानेपानी योजना सम्पन्न हुने अन्तिम तयारीमा छ ।

यहाँका धारामा पानी आउन लागि सकेको स्थानीय बताउँछन् ।स्थानीय बासिन्दाको वर्षौँदेखिको प्यास मेटाउने यस पहलप्रति स्थानीयहरू अत्यन्तै खुसी देखिएका छन्।“हाम्रो ठाउँमा सडक र बिजुली छैन, सामान बोक्न खच्चडकै भर पर्नु परेको पवित्र रानाले बताउँछिन्।यस्तो कठिन भूगोलमा सोसेक नेपालले हामीलाई खानेपानीको सुविधा दिने भएपछि अब खोलाको धमिलो पानी पिउने र घण्टौँ हिँड्ने बाध्यता हट्ने भो।” उनी भन्छिन् ।

नलगाड-८ का स्थानीय धनवीर चनारा र शेर बहादुर वलीले काफलधारा मैदेमा पानीको धारा सञ्चालनमा आउँदा गाउँ नै खुसी भएको बताउँदै भने, “घरमै धारा आउँदा हाम्रो दैनिकी नै फेरिएको छ, सोसेक नेपालको सहयोगले हामीले वर्षौँदेखिको ठुलो दुःखबाट छुटकारा पाएका छौँ।”

योजनाको प्राविधिक तथा कार्यान्वयन पक्षबारे जानकारी दिँदै परियोजना संयोजक सन्तोष ढकालले भौगोलिक चुनौतीहरूका बाबजुद कामलाई निरन्तरता दिइएको बताए। “भौगोलिक विकटतामा खच्चडमार्फत पाइप पुर्‍याएर हामीले काम गरिरहेका छौँ। स्थानीयको साथ नभएको भए यो सम्भव थिएन,” उनले भने। उपभोक्ता समितिका अध्यक्ष भीम सरपालीले बजेटको पारदर्शिता र गुणस्तरीय निर्माणमा आफूहरू लागि परेको बताए। उनले भने, “खेत गैरी र पुवाडाँडाका लागि फरक-फरक बजेट र योजना छन्। स्थानीय जनताको श्रमदान र सोसेक नेपालको प्राविधिक सहयोगले हाम्रो गाउँमा खानेपानीको समस्या समाधान हुने पक्का भएको छ।”

यस अभियानलाई नजिकबाट नियालिरहेका सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले दुर्गम बस्तीमा आधारभूत सेवा पुर्‍याउनु नै संस्थाको मूल ध्येय रहेको बताए। थापाले भने, “जहाँ सडक र बिजुली पुगेको छैन, त्यहाँका नागरिकलाई शुद्ध पानी पिउने अधिकार छ। नलगाडका बस्ती-बस्तीमा पानी पुर्‍याउनु हाम्रो खुसीको कुरा हो। सडक नभएको ठाउँमा खच्चडको सहयोगमा भए पनि निर्माण सामग्री ढुवानी गरेर जनताको घर-घरमा धारा जडान भई उनीहरूको अनुहारमा देखिएको खुसी नै सोसेक नेपालको वास्तविक सफलता हो।”

बाटो नभए पनि स्थानीयको अठोट र सोसेक नेपालको प्राविधिक तथा आर्थिक सहयोगले नलगाडका पुवाडाँडामा ८०, खेतगैरीमा २३ घरधुरीमा खानेपानी पुर्याइदै छ, भने काफलधारा र मैदे बस्तीका ६९ घरधुरी र एउटा विद्यालयमा धाराको पानी स्थानीयले उपयोग गरिरहेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५