वीरेन्द्रनगर: मातृमृत्यु दर घटाउन कर्णालीका डाक्टरहरूलाई तालिम दिन थालिएको छ । यहाँका अधिकांश मेडिकल अधिकृत र विशेषज्ञ डाक्टरहरूले सुरक्षित गर्भपतन तालिम नलिएर पढाइकै आधारमा गर्भपतन सेवा प्रवाह गरिरहेकाले तालिम दिन थालिएको हो ।
नेपालको जनगणना–२०७८ अनुसार नेपालमा प्रति एक लाखमा १ सय ५४ जना महिलाको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये कर्णालीमा कर्णालीमा प्रति एक लाखमा १ सय ७२ आमाको मृत्यु हुने गरेको छ ।
प्रदेश अस्पताल सुर्खेतकी वरिष्ठ नर्सिङ अधिकृत सकुन्तला सापकोटाले कर्णालीमा असुरक्षित गर्भपतनका कारण मृत्यु हुने आमा तथा किशोरीहरूको संख्या डरलाग्दो भएको बताइन् ।
‘कर्णालीको भौगोलिक बनावट, अशिक्षा, चेतनाको कमी र रुढिवादी सोचका कारण असुरक्षित गर्भपतन बढ्दै गएको छ,’ उनले भनिन्, ‘जसका कारण आमा तथा किशोरीहरूको मृत्यु हुने गरेको छ, विशेषगरी ग्रामीण क्षेत्रमा पनि असुरक्षित गर्भपतन भित्रभित्रै बढ्दो छ ।’
हुम्ला अस्पतालमा कार्यरत डा. कैलाश लामाले अस्पतालमा दैनिक कम्तीमा १० जना महिला सुरक्षित गर्भपतन गराउन आउने गरेका बताए । अस्पताल आउन नसक्नेहरूले असुरक्षित गर्भपतन गराएको पाइएको उनको भनाइ थियो । आफूहरूले पढाइकै आधारमा आजसम्म गर्भपतन गराइरहेको भन्दै उनले सुरक्षित गर्भपतनको तालिमले सेवा दिन सहज हुने बताए ।
जाजरकोट अस्पतालका डा. भूपेन्द्र बजगाईंले प्रभावकारी अनुगमन नहुँदा ग्रामीण क्षेत्रमा अवैध फार्मेसी र असुरक्षित गर्भपतन गराउने निजी क्लिनिकहरू खुलेको बताए । जसले गर्दा महिलाहरूको स्वास्थ्य नै जोखिममा परेको छ ।
कर्णालीमा मातृ मृत्युदर बढ्दै गएको भन्दै प्रदेश अस्पतालसहित ९ वटै जिल्ला अस्पतालका डाक्टरहरूलाई तालिम दिन थालिएको हो । सुरक्षित गर्भपतनसम्बन्धी तालिम लिएर कर्णालीमा बढ्दै गएको मातृ मृत्युदरलाई कम गराउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनले तालिम लिएपछि सुरक्षित गर्भतपन गराउने संस्था र व्यक्ति सूचीकृत हुनुपर्ने बताए ।
तालिमका संयोजक एवं स्त्रीरोग विशेषज्ञ डा. केशर ढकालले पहिलो पटक डाक्टरहरूलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिमको आयोजना गरिएको बताए । यो तालिम महिलाको स्वास्थ्यका लागि निकै उपयोगी भएको उनको भनाइ थियो । डाक्टर दक्ष भएपछि उनले मातृमृत्युदरमा कमी आउने विश्वास व्यक्त गरे । तालिमका प्रशिक्षक डा. अमित सिंहले तालिम १० दिनसम्म सञ्चालन हुने बताए ।




खुल्ला प्रेस । ६ बैशाख २०८०, बुधबार १०:४१