
कृष्णप्रसाद अधिकारी
दैलेखः बाहिरबाट झट्ट हेर्दा सबै खानेकुरा छर्र्लङ देखिने हरियो घाँसमुनि बसोबास गर्दै आएका राउटे समुदाय यतिवेला दैलेखको गुराँस गाउँपालिका –१ को सिममेला भिरालो पाखामा बसोबास गरिरहेका छन् । नेपालको सम्पदा भनेर चिनिने यो समुदाय विहिबार मैनखोलाबाट बसाइ सरेर सिममेलामा बसोबार बसोबास गरिरहेको छ । मंगलबार राउटे समुदायकी महिला मनिसा शाहीका मृत्यु भएपछी राउटे बसाइ सरेका हुन् । राउटे समुदायका कुनै पनि ब्यक्तिको मृत्यु भएमा बसाइ सर्ने चलन छ । साउन महिनालाई अध्याँरो महिना मान्ने चलन यो समुदाय छ भने बसाईसराई गर्नु हुदैन भन्ने मान्यतालाई निरन्तरता दिदै आएका छन् । फरक रहन सहन भेषभुषा, चालचलन, रितिरिवाज र संस्कृतिका यो समुदायले नेपाललाई विश्वभरि चिनाएको छ भने साँस्कृति विविधता एक इट्टा थपेको छ ।
दक्षिण एशियाको एक मात्र भ्रमणशिल यो जाती दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, अछाम, दाङ, बाँके जिल्लाका आसपासका जंगलमा फिरेन्त जीवन यापन गरिरहेको छ । नदीको किनारा, पहाड, टाकुरा जंगलमा बसाई सरिरहने यो समुदायलाई प्राकृतिक ज्ञानको भण्डार मानिन्छ । कुन सिजनमा कहाँ जाने हो भनेर योजनावद्ध ढंगले मात्र बसाई सर्छन । स्वार्थ विहिन यो समुदायले आफुलाई ‘जंगलको राजा’ भन्न औधी मनपराउँछन् ।
नेपालमै बसोबास गर्ने भएकोले नागरिकता नलिए पनि नेपाल नागरिक हौं भनेर गौरव गर्ने यो समुदायको शान उत्तिकै गौरव गर्न लायक छ । तीनै तहका सरकारले लोपोन्मुख जातीको उत्थानको लागि प्रयास गरेपनि कुलधर्म विरुद्ध हुने भन्दै अस्वीकार गर्दै आएका छ । तर भने सामाजिक सुरक्षाको भत्तालाई सहजै स्वीकार गरेका छन् । पैसा छुदा पाप लाग्छ भन्ने समुदाय अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न मदिरा खाएर सकाउछन् ।
लेखपढ, खेतीपाती र स्थायी बसोबासलाई महाशत्रु ठान्ने यो जातीमा पछिल्लो समय परिवर्तनतिर उन्मुख हुन थालेका छन् । गैरराउटे सँगको घुलमिल लेखपढ र बाध्यताले गर्दा परिवर्तन संकेत देखिएको राउटेका जानकारको भनाई छ ।
‘जंगलमा कन्दमूल पाइन छाड्यो, गुना, बाँदर पनि पाइँदैनन् । मूल सुक्दै जान थाले । बसोबास गर्ने खोलाको किनारामा बाढी पहिरोले बस्न लायक ठाउँ छैन । लामखुेट्टले टोकेर दुःख दिन थाले,राउटे मुखिया सुर्यनारायण शाहीको यो भनाइले जंगलमै रमाएर बस्ने यो जातीलाई जलवायु परिवर्तन असर गरेको सजिलै बुझ्न सकिन्छ । जलवायु परिवर्तन सँगै राउटेको व्यवहार पनि फेरिए पनि दुःख झनै बढदै गएका छन् । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् ।
प्रकृति र शान्त वातावरण, चराचुरुङ्गीका चिरविर आवाजले रमाईरहेका यो जातीलाई विकास निर्माण आधुनिक शहर, कलकारखाना टाढा छन् । प्राकृतिकमय जीवनयापन गर्दै जीवन विताईरहेका यो समुदाय आजभोली जलवायु परिवर्तनको चपेटा छन् । ‘जलवायु परिवर्तन’ शब्दको ज्ञान कम भएपनि यसले पारेका असरबारे भुक्तभोगी छन् । पर्यावरणीय प्रभावले यो जातीको आहारमा कमी मात्र छैन,सजिलै प्याँस मेटाउने मुलको पानी पाएका छैनन् । जताततै बाढी र पहिरोले बसोबास गर्ने ठाउँ भेटन उत्तिकै मुस्किल छन् । सजिलै कुकाठ, कन्दमुल, जैविक जडिबुटीको अभाव उत्तिकै समस्या रहेको छ । बाह्य समाजसँग हिमचिम बढनु र कुकाठ काट्न नपाउँदा जीवनयापनका लागि परनिर्भर भएका छन् । जंगलको राजा भन्न रुचाउने यो समुदायलाई जलवायु परिवर्तनसँगै दुनियाँको (गैरराउटे) को बाटो लाग्न बाध्य झै भएको छ ।
समुदायमा एउटा सदस्यको मृत्युपछि मात्र बस्ती सार्ने राउटेहरु आहार अभावले छिटो छिटो बस्ती सार्ने गरेका छन् । विहे गर्नु कुलको,पानी पिउनु मुल को उखानलाई आत्मसाथ गर्ने यो जाति तापक्रम बृद्धि वनजंगल विनाश पानीका मुहान सुक्दै जानु, कन्दमुल लोप ुहदै जानुले नै आफुहरुलाई रैतीको बाटोमा पाईला बढेको अर्का मुखिया विरबहादुर शाहीको भनाई छ । पहिले जसरी कुकाठ पाईदैन । शिकार पनि त्यस्तै छ । हामीलाई जंगलमा जिउन गाह्रो भएको छ । भाँडाकुडा विक्री हुदैनन कसरी परिवार पालौला त उनले दुखेसो पोखे । सरकारले दिन भत्ताले मात्र जीवन धानेका छौ । अन्य मानिस झै यो समुदायले पनि जलवायु परिवर्तनको सामना गर्नु परेको छ ।
धरापमा पुर्खौली पेशा
कु–काठका भाँडाकुँडा र सामग्री बनाएर अन्न सँग साटेर जीविका चलाउने एउटै मात्र यो समुदायको सिप हो । नरम काठका कोसी मदुस, झुमा, खाट, पिर्का आरी लगायतका सामग्री बनाई गाउँमा लगेर अन्नसँग साटेर जीविकोपार्जन गर्छन । तर, पछिल्लो समय राष्ट्रिय वन सामुदायमा हस्तान्तरण हुँदा राउटे चाहे अनुसारको कु–काठ काट्न नपाउँदा पुख्यौली पेशा धरापमा पर्ने चिन्तामा छन्, राउटे युवा प्रकाश शाही । हामी पहिला कु–काठका भाँडाकुडा बनाएर अन्न सँग साटथ्यौं । अब काठ नै काट्न दिदैनन् गाउँले हामीलाई बाँच्न गाह्रो भयो,उनले थपे ।

विकासका नाममा जथाभावी सडक खन्नेलगातका कारणले वन मासिँदै छ । त्यसको असर सोझै राउटे समुदायमा बढी परेको छ । जीविकोपार्जनको मुख्य स्रोत गुम्दैछ । अहिले नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन धानिरहेको उनीहरू बताउँछन् ।
जंगलका जडिबुटि औषधी जन्य गिठाभ्याकुर, तरुल,जंगली कन्दमुल खाएर जीवन विताईरहेका यो जाती पछिल्लो समय बजारमा पाईने अस्वस्थकर खानपान जंकफुड खान बाध्य छ । कुनै बेला कन्दमुलकै भरमा बाँचिरहेका यो जाती बजारमा पाईने अस्वस्थ्कर जंडफुडका कारण समुदायमा धेरै विरामी हुने गर्छन । सबै शहरिया खानपिनमा रुची राख्दै आएको छन् । जसले गर्दा राउटेको स्वास्थ्य दिनानुदिन कमजोर हुदै गएको छ । सबै भन्दा बढी यो समुदायमा मदिराको मोह मौलाउँदै गएको छ । पुर्खौली पेशा पेशा र सहज सहन धरापमा छ ।
जंगल र जडिबुटी जोगाऊ छैन स्थानीय सरकारलाई चासो
जंगल र जडिबुटि जोगाउन स्थानीय सरकारले चासो दिएको देखिदैन्। प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्नसके मात्र हामीले जंगलका जडिबुटी जोगाउन सकिने जानकारहरु बताउँछन् । जंगल र जडिबुटी जोगाउन सके केही मात्रामा भएपनि जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने भगवतीमाई गाउँपालिकाका खडक अधिकारीले बताए । पछिल्लो समय वनजंगल विनाशले जंगल र जडिबुटी हराउदै गएकाले अब तीनवटै सरकारले जल,जंगल र जडिवुटी जोगाउनका लागि अभियान थाल्नुपर्छ उनले भने । प्राकृति स्रोत साधनको विनाश गर्दा यसको प्रत्यक्ष असर जंगलमा आश्रित समुदायलाई छ,अब जल, जंगल र जडीबुटी जोगाउन गाउँ बस्तीबाट जचेतना जगाउनुपर्छ,उनले भने ।
जथाभावी सडक खन्दा राउटे बस्ने बस्तीहरूसमेत पहिरोको जोखिममा परिरहेका छन् । आगलागी हुँदा जंगल नष्ट भईरहेको छ । पानीको मुहान संरक्षण गर्नुपर्ने र व्यापक रूपमा वृक्षरोपणको कार्यक्रम सञ्चालन गर्नुपर्छ । प्राकृतिक रूपमा वन जंगलमा प्रशस्त मात्रामा पाइने जडीबुटी संरक्षणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने, ‘जडीबुटी संरक्षणका लागि व्यावसायिक रूपमा खेती गर्नुपर्छ,लामो समयदेखी राउटेमा काम गर्दै आएका आठविस नगरपालिका खगेन्द्रबहादुर शाहीले बताए ।
यो जाति खस–आर्य समुदायको पिछडिएका लोपोन्मुख आदिवासी हुन्। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरू आफूलाई ‘जंगलको राजा’ दाबी गर्छन् । खाम्ची भाषा बोल्ने उनीहरू नेपाली भाषा बोल्न र बुझ्न सक्छन्। बाँदरको सिकार गर्ने र कन्दमूल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने राउटे केही वर्ष अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे । पहिला राउटेहरूले आफूले बनाएका काठका सामग्री अन्नसँग साटेर जीविकोपार्जन गर्दै आएका थिए । तर, धेरैले अहिले त्यसो गर्न छाड े। राउटेहरू आफू सोवंशी, कल्याल र रास्कोटी गरी तीनवटा ठकुरी समुदायको भएको बताउँछन् । सोसेक नेपालका कार्यकारी निर्देश हीरासिंह थापाले राउटे समुदाय अज्ञानतासँग रमाइरहेको बताउँछन् । जलवायु परिवर्तनको असर लोपोन्मुख जाति राउटेमा पनि परिरहेको बताउँदै थापाले भने, ‘राउटे समुदायमा सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ । ‘वन जंगल मासिँदै जाँदा उनीहरूको पेसा संकटमा छ । पहिला वनजंगलमा पाइने जडीबुटी खाने उनीहरू धेरै बिरामी पर्दैनथे । अहिले मदिराको प्रयोग पनि अत्यधिक छ । अब आमनागरिकहरूसँगै राउटे नागरिकहरूलाई वन जोगाउने र जडीबुटी संरक्षण गर्ने लगायतका विषयमा सचेतना जगाउनुपर्छ,’ थापाले भने ।
जलवायु परिवर्तनको असरले पानीका मुहानहरू सुक्दै जाँदा राउटे समुदायको बस्तीमा खानेपानीको समस्या छ । ‘खानेपानीका मुहानहरू सुक्दै गएका छन् । राउटे बस्ने बस्तीबाट टाढा–टाढा गएर खानेपानीको जोहो गर्नुपर्छ, । राउटे नागरिकहरू खोला किनारमा बसोबास गर्दा बाढीपहिरोको जोखिममा पर्ने गरेको उनको बुझाइ छ । सोसेकले राउटे समुदायको शिक्षा, स्वास्थ्यसहितको समाजिकीकरणका लागि एईआएन लक्जेम्बर्गको साझेदारीमा राउटे परियोजना सञ्चालन गरिरहेको छ ।
राउटे समुदायको अहिले १ सय १३५ जना जनसंख्या छ । २०७५ असार १७ देखी यो समुदायमा ४२ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ । मृत्यु हुनेमा अधिकाँश बृद्ध र बालबालिका रहेको राउटे परियोजनामा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिए ।




खुल्ला प्रेस । १५ भाद्र २०८१, शनिबार ०७:४३