एक वर्षमा निजी क्षेत्रले चार खर्ब पनि लगेन ऋण

काठमाडौं: राजनीतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्यांकले देखाएको छ । उनीहरूले कर्जा उठाउन सकेका छैनन् ।

गत आर्थिक वर्षमा निजी क्षेत्रमा ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँमात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको ६.५ प्रतिशत हो । अर्थात् २०८३ असारसम्म कुल कर्जा ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ प्रवाह भएकोमा गत आवमा साढे ६ प्रतिशतमात्र कर्जा विस्तार वृद्धि हुन सकेको हो ।

आव २०८१–८२ मा यस्तो कर्जा ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ अर्थात् कुल कर्जामा ८.४ प्रतिशतको वृद्धि भएको थियो । आव २०८२–८३ मा निजी क्षेत्रतर्फ प्रवाहित हुने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राष्ट्र बैंकको रहेको थियो । सो लक्ष्यको आधामात्र कर्जा विस्तार बढ्न सकेको हो ।

आर्थिक वर्षको सुरुवात नै जटिल बन्दा अर्थतन्त्रमा लगानीको वातावरण हुन सकेन । २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको थियो । सो क्षतिपछि राजनीतिक संक्रमण समेत भयो । तर, फागुनमा तोकिएको मिति फागुन २१ मै निर्वाचन भएपछि राजनीति केही लयमा फर्कियो ।

चैत १३ मा बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भयो । अहिले सरकारले काम गरिरहे पनि निजी क्षेत्रको मनोबल बढ्न भने सकिरहेको छैन । यसबीचमा निजी क्षेत्र एकदमै थलिएकाले लगानीको माग पनि हुन सकेन । सोही कारण कर्जा विस्तारमा अपेक्षित नतिजा हासिल हुन नसकेको हो । नयाँ र स्थिर सरकार बनेसँगै अर्थतन्त्र चलायमान हुने दिशामा जाने अपेक्षा छ । तर, समय–समयमा व्यवसायी र सरकारबीच कुरा नमिल्दा पनि त्यसको असर लगानीमा हुने गरेको जानकारहरू बताउँछन् । सरकारले बैंकर तथा समग्र निजी क्षेत्रलाई पहिले सुन्ने अनि थुन्ने नीतिविपरीत धमाधम थुन्ने नीति लिएको भन्दै निजी क्षेत्र रुष्ट छ ।

अर्कातिर बुधबारमात्रै आएको बाढीले क्षति पुर्‍याउँदा पनि निजी क्षेत्र आतंकित बनेको छ । यसले पनि कर्जा विस्तारमा केही असर पुर्‍याउने जानकारहरू बताउँछन् । बैंकरहरू पनि विस्तारै अर्थतन्त्र लयमा फर्कने विश्वास गरिएपनि बेलाबखत अवस्था अलि कठीन बन्ने गरेको बताउँछन् ।

२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा यस्तो अंश क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ६.५ प्रतिशत, विकास बैंकहरूको ७.० प्रतिशत र वित्त कम्पनीहरूको ५.४ प्रतिशतले बढेको छ ।

२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १५.१ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.९ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६४.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२-८३ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ५.० प्रतिशत, र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले घटेको छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३२.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १८.३ प्रतिशत, हायर पर्चेज कर्जा ११.१ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ७.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ प्रतिशत, अधिविकर्ष कर्जा ५.२ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ ।

पछिल्ला वर्षहरूमा रेमिटेन्स आउने क्रम बढिरहेको छ । गत असारसम्ममा मात्रै २३ खर्ब बढी रेमिटेन्स भित्रिएको छ । साथै डलर सञ्चिति पनि एकदमै राम्रो छ । यस्तै, बैंकमा निक्षेप बढ्ने क्रम पनि बढिरहेकाले लगानीयोग्य रकम १३ खर्बभन्दा बढी छ । तर पनि कर्जाको माग हुन भने सकेको छैन । कर्जाको माग बढाउन सहयोग गर्ने बैंक ब्याजदर पनि निकै न्यून अवस्थामा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

२०८३ असार महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर ४.८३ प्रतिशत, विकास बैंकहरूको ६.५८ प्रतिशत र वित्त कम्पनीहरूको ७.०९ प्रतिशत रहेको छ । २०८२ असार महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर ६.०२ प्रतिशत, विकास बैंकहरूको ८.०३ प्रतिशत र वित्त कम्पनीहरूको ८.९७ प्रतिशत रहेको थियो । २०८३ असार महिनामा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.५५ प्रतिशत, विकास बैंकहरूको ७.७० प्रतिशत र वित्त कम्पनीहरूको ८.५५ प्रतिशत रहेको छ ।

२०८३ असार महिनामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः ९.९५ प्रतिशत र १२.७६ प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३७.९१ प्रतिशत रहेको छ । २०८३ असार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५