दैलेखः राहधानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने यस अधिको बाध्यता हटेको छ अब राहदानी(पासपोर्ट) सेवाग्राहीको घरमै पुग्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला हुलाक कार्यालय दैलेखबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त सेवाको शुभारम्भ गरिएको हो ।
सम्झौतापत्रमा प्रमुख जिल्ला अधिकारी आन्दह सारुमगर र जिल्ला हुलाक कार्यालय प्रमुख निर्मला थापाले हस्ताक्षर गरेका छन् । वैशाख २६ गते देखि नै जारी हुने राहदानी सेवाग्राहीको इच्छाअनुसार हुलाकमार्फत घरमै पु¥याइने प्रमुख जिल्ला अधिकारी सारुमगरले बताए । उनले जिल्ला प्रशासन कार्यालयमै पुगेर राहदानी बुझ्न चाहने सेवाग्राहीका लागि पुरानै व्यवस्था यथावत् रहने जानकारी दिए ।
यस्तै जिल्ला हुलाक कार्यालयका प्रमुख निर्मला थापाले राहदानी लिन प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अब हट्ने बताइन । उनले राहदानी वितरणलाई थप सहज, व्यवस्थित र सेवामैत्री बनाउन जिल्ला प्रशासन कार्यालय परिसरमै हुलाक काउन्टर सञ्चालन गरिएको जानकारी दिइन् ।
उनले भने अनुसार “घरमै राहदानी बुझ्ने सेवा पूर्ण रूपमा स्वेच्छिक हो । जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिन चाहनेले सामान्य प्रक्रिया पूरा गरे पुग्छ भने हुलाकमार्फत घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीले थप फाराम भर्नुपर्नेछ । घरसम्म पु¥याउँदा हुलाक ऐनअनुसारको दस्तुर भने लाग्नेछ ।”
जिल्लामा लागू भएको उक्त सेवाअन्तर्गत राहदानीका लागि आवेदन दिने सेवाग्राहीले चाहेको खण्डमा आफ्नै घरमा राहदानी बुझ्न सक्नेछन् ।जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।




खुल्ला प्रेस । २६ बैशाख २०८३, शनिबार १६:२७