काठमाडौँः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका ठुला आयोजनाहरू भदौभित्र टेन्डर प्रक्रियामा जान मातहतका निकायलाई निर्देशन दिएका छन् ।
उनले बिहीबार प्रदेशका सबै मन्त्रालय तथा कार्यालयहरूलाई लिखित निर्देशन जारी गर्दै ठूला आयोजनाहरूको बोलपत्र (टेन्डर) भदौ मसान्तभित्र आह्वान गरिसक्न निर्देशन दिएका हुन् । पछिल्लो समय मुख्यमन्त्री कँडेलले प्रदेशको विकास खर्च बढाउन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन केन्द्रित भएका छन् ।
प्रदेश सरकारको आर्थिक खर्च प्रणालीमा सुधार नआएपछि चालु आर्थिक वर्षको सुरुआत देखिनै कडाइ गरिएको उनले बताएका छन् । यो निर्देशनले प्रदेश सरकारका ठूला विकास आयोजनाहरू आर्थिक वर्षको सुरुबाटै कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई १ करोड भन्दा माथिका र अन्य मन्त्रालयहरूलाई ५० लाख भन्दा माथिका आयोजनाहरूको बोलपत्र सूचना भदौ मसान्तभित्र अनिवार्य रूपमा आह्वान गर्न निर्देशन दिएका छन् । ‘विगतमा ठेक्का भई हाल कार्यान्वयनमा रहेका आयोजनाको कार्यक्रम साउनबाट नै गर्ने गरी कार्यान्वयनमा लैजाने’ निर्देशनमा भनिएको छ ।
त्यस्तै समपूरक र विशेष अनुदानबाट सञ्चालित हुने आयोजनाहरूको बोलपत्र भने साउन मसान्तभित्रै आह्वान गर्न भनिएको छ । ‘चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने बहुवर्षीय र स्रोत सुनिश्चितता गर्नुपर्ने आयोजनाहरूको विवरण पनि यही महिनाभित्र प्रदेश योजना आयोगमा पठाउनुहोस्,’ कँडेलको लिखित निर्देशनमा भनिएको छ ।
स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधिहरू पनि भदौ मसान्तभित्र तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
योजना आयोगलाई योजना छनोट तथा आयोजना बैंकसम्बन्धी कार्यविधि परिमार्जनका लागि साउन भित्रै मस्यौदा तयार पार्न कँडेलले निर्देशन दिएका छन् ।
समपूरक, विशेष र सशर्त अनुदानसम्बन्धी कानुनी व्यवस्था परिमार्जनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले साउन मसान्तभित्र मस्यौदा तर्जुमा गर्नुपर्ने, कुनै पनि मन्त्रालयले बजेट अवण्डामा राख्न नपाउने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्न मुख्यमन्त्री कँडेलले निर्देशन दिएका छन् ।




खुल्ला प्रेस । २३ श्रावण २०८२, बिहीबार २०:५०