सुर्खेतमा सडक दुर्घटना, एकको मृत्यु ११ जना घाइते

सुर्खेत: सुर्खेतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन्। सुर्खेतको लेकवेशीमा नगरपालिका–३, स्थित काप्रीखोला नजिक मदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

बुधबार साँझ लेकवेशी नगरपालिका–४, को दशरथपुरदेखि वडा नम्बर १ लेखफर्सा तर्फ जाँदै गरेको मधेश प्रदेश ०३००१ क २४९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको भे १ ह ६६७५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट अटो चालक ४८ वर्षीय डिलबहादुर डडालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, बुधबार साँझ विद्यार्थी बोकेर हिँडेको बस दुर्घटनामा परेको छ । वीरेन्द्रनगर नगरपालिका–८, स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभी निकेतन स्कुलको बस खोला तर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।

बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । बस स्कुल बिदा भए घर फर्किँदै थियो । घाइतेको उद्धार गरी देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५