दैलेख: इतिहास बोकेको ‘दुल्लु दरबार’ भत्केको २४ वर्ष भयो । अहिले पनि पुनर्निर्माण हुन सकेको छैन ।
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा माओवादीले दरबारमै बम फालेपछी खरानी भएको दरबार त्यसयता पुनर्निर्माण भएको छैन । वि.सं. २०५९ वैशाख ८ गते माओवादीले दरबारमा बम पड्काएका थिए ।
जुम्लाको तत्कालीन सिंजा राज्यको हिउँदे राजधानी रहेको दुल्लुको दरबार पुनर्निर्माणको अभावमा इतिहाससँगै हराउने जोखिममा परेको छ। तत्कालीन द्वन्द्वका क्रममा ध्वस्त बनाइएको दुल्लु दरबार २४ वर्ष हुँदा समेत पुनर्निर्माण हुन सकेको छैन । यसले दुल्लुको अस्तित्व र चिनारी समेत मेटिने खतरा छ ।
पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण चुनौतीपूर्ण बनेको स्थानीयले बताउने गरेका छन् ।

तत्कालीन सिंजा राज्यका चल्ल राजाहरू जो पछि मल्ल भनिए, उनीहरूको शीतकालीन राज्यको रूपबाट विकसित उक्त राज्यको पूर्वी सीमा गण्डकीसम्म थियो भन्ने इतिहास भेटिन्छ ।गएको २४ वर्षयता पुनर्निर्माणका लागि पटक-पटक पहल भए पनि कानुनी जटिलता र स्वामित्व विवादका कारण काम अघि बढ्न सकेको छैन।
दरबार पुनर्निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहे पनि जग्गा स्वामित्वसँग सम्बन्धित मुद्दाका कारण काम रोकिएको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजाल बताउँछन् उनले बताए अनुसार- दरबार पुनर्निर्माणप्रति नगरपालिका प्रतिबद्ध रहे पनि जग्गा स्वामित्वसँग सम्बन्धित कानुनी विवादका कारण काम अघि बढ्न नसकेको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुल्लु दरबारसँग सम्बन्धित जग्गा सरकारी स्वामित्वमा ल्याउन अदालतबाट आदेश प्राप्त भइसके पनि अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक फिल्ड बुकको अध्ययन तथा सम्बन्धित प्रक्रिया पूरा गर्न समय लागेकाले काम गर्न केही ढिलाइ भएको बताए ।
इतिहासविद्का अनुसार दुल्लु राज्य तत्कालीन बाइस-चौबिसे राज्यमध्ये महत्त्वपूर्ण राज्यका रूपमा परिचित थियो। नेपाल एकीकरणअघि यसको छुट्टै ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्त्व रहेको उल्लेख गर्दै उनीहरूले दुल्लु दरबारको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
खस राजा संसारी बम्मले विसं १३५३ मा स्थापना गरेको दुल्लु दरबार कुनै साधारण भवन थिएन । तीन वटा भर्याङ र ५२ वटा झ्याल ढोका भएको दरबार प्यागौडा शैलीमा निर्माण गरिएको थियो । दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोट देखी भारतको गडवालसम्म फैलिएको थियो ।
बाइसे, चौबिसे राज्यमा यो राज्य सानो राज्यको रूपमा रहेको मानिन्छ । नेपालबाट अरनिको समूहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । दुल्लु राज्यका अन्तिम राजा जङ्गबहादुर शाहले यहीँबाट राजकाज चलाएका थिए ।दुल्लु दरबार केवल एउटा भवन मात्र नभई सिंजा सभ्यता, तत्कालीन राज्य व्यवस्था र कर्णालीको ऐतिहासिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो।




खुल्ला प्रेस । १३ भाद्र २०८३, शनिबार १०:३२