दैलेख : बालुवा खाली गरेर फर्किदै गरेको ट्याक्टरको ट्रलीमा चढ्न खोजेका एक बालक डालामा ठोक्किएर बुधवार मृत्यू भएको छ । भगवतीमाई गाउँपालिका–७ वडाभैरबका ११ वर्षीय बालक हिक्मत सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए ।
भगवतीमाई गाउँपालिका–७ बडाभैरबको पानीमुल नजिक बालुवा खाली गरी रित्तै फर्किरहेको भे १ त ९३८६ नम्वर ट्रयाक्टरको ट्रलीमा अरु बालबालिकाहरुसंगै चढ्न खोजेका बालकलाई डालाले मुख, निधार र छात्तिमा चोट लागेपछि उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउदै गर्दा बाटोमै मृत्यू भएकोे प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि चालक प्रशान्त खड्का फरार भएका तर ट्याक्टर धनी हरिनारायण खड्का र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा राखिएको दैलेखका इञ्चार्ज डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीका अनुसार मृतक बालक हिक्मत सुनार बुबा विजयसिंह सुनार र आमा कला सुनारको एक मात्र छोरा हुन् । विजयसिंह र कलाका अरु ४ छोरी छन् । मृतक हिक्मत सुनार भैरब मावि खोरमा कक्षा ४ मा अध्ययनर थिए ।




खुल्ला प्रेस । २४ कार्तिक २०७८, बुधबार २०:५७