कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

वीरेन्द्रनगरः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष कर्णालीमा चाडपर्वका बेला खाद्यान्न अभाव हुन नदिने जनाएको छ। त्यसका लागि कम्पनीले गत वर्ष २१ वटा रहेको वितरण केन्द्रको संख्या बढाएर यस वर्ष ८१ पुर्‍याएको छ।

चाडपर्वअघि नै अधिकांश वितरण केन्द्रमा खाद्यान्न पुर्‍याएर मौज्दात राखिएको कम्पनीको कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।

कार्यालयका अनुसार मुगुको मुगुम कार्मारोङको एउटा स्थान र बाजुराको मुक्तिकोटमा बाटो अवरुद्ध भएकाले खाद्यान्न पठाउन सकिएको छैन। अन्य जिल्लाका वितरण केन्द्रमा भने खाद्यान्न पुर्‍याइएको छ। स्थानीय उत्पादनले वर्षभरको माग धान्न नसक्ने माथिल्लो कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा समेत चाडपर्वअघि नै खाद्यान्न पुर्‍याइएको कार्यालय प्रमुख केशवराज बुढाले बताए।

चाडपर्वका बेला खाद्यान्नको माग बढ्ने, ढुवानी प्रभावित हुने र मूल्यवृद्धिको जोखिम रहने अवस्थालाई ध्यानमा राखेर यस वर्ष आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए। विगतका वर्षमा साउनमा खुल्ने टेन्डर यस वर्ष जेठमै खोलिएको थियो। टेन्डर प्रक्रिया छोट्याइएकाले समयमै सबै जिल्लामा खाद्यान्न पुर्‍याउन सकिएको कार्यालयको भनाइ छ।

हिमाली जिल्ला हुम्लामा दसैंअघि नै खाद्यान्न पुर्‍याइएको छ। सिमकोट शाखा तथा सर्केगाड र श्रीनगर डिपोमा समेत खाद्यान्न मौज्दात राखिएको छ। कम्पनीले जिल्लाका सदरमुकाममा सीमित वितरण प्रणालीलाई गाउँबस्तीसम्म विस्तार गर्ने उद्देश्यले वितरण केन्द्रको कोटा बाँडफाँट गरी बिक्रीवितरणलाई विकेन्द्रित गरेको बुढाले बताए। ‘थोरै ठाउँबाट वितरण हुँदा नागरिकले गुनासो गरेपछि स्थानीयको मागअनुसार वितरण केन्द्र बढाइएको हो,’ उनले भने। यसअघि चाडपर्व लक्षित सुपथ मूल्यका बिक्री केन्द्र सञ्चालन हुँदै आएकामा यस वर्षदेखि तिनलाई वर्षैभरि सञ्चालनमा ल्याइएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५