कार्यकर्ता भन्छन्, ‘चुनावका बेला मात्रै नआउनू’

‘चुनाव आयो भन्या मात्तै नआउनू । यसै गरी, आउनाइरह्या पार्टी बलियो हुँदो छ । हाम्मा दुःख तमी सुनौला, तम्मा कुणा हामी सुनौँला ।’

जुम्ला : माथिको सुझाव मिसन (ग्रासरुट) अभियान अन्तर्गत जुम्लाको चन्दननाथ नागरपालिका–६, छिनामा पुग्दा (नेकपा एमाले) का नेताहरूलाई स्थानीय लालकोरा सुवर्णकारले दिएको सुझाव हो । चुनावका बेला मात्रै नेता–कार्यकर्ताहरू गाउँघरमा आउने रोग नै लागेको बताउँदै कार्यकर्ताहरूले यस पटक चाहिँ एमालेले चुनाव नभएका बेला मिसन (ग्रासरुट) अभियान ल्याएर गाउँघरमा आएकोमा खुसी व्यक्त गरे ।
सोमबार बिहान आयोजित वडा स्तरीय कार्यक्रममा जम्मा भएका वडाका कार्यकर्ताले जिल्ला र प्रदेशका नेताहरूलाई फोन गरेको बेला उठाउन, सुख–दुःखमा साथ दिन, बेला–बेलामा गाउँघरमा छिर्न र कमिटीका बैठकहरू नियमित बसाउन सुझाव दिए ।
‘हिजो हामी कोही कता भयौँ, कोही कता भयौँ । पार्टी विभाजन भयो । हामी पनि विभाजित भयौँ । अब सबैको होस खुलेको छ । आत्मालोचना गरौँ र पार्टीलाई फेरि बलियो बनाउने गरी अघि बढौँ’, वडा नम्बर ६ कै श्रीराम सुनारले भने ।
एमालेले अघि सारेका कार्यक्रमको जनतामा व्यापक प्रचार हुन नसकेकाले त्यसको लाभ विपक्षीले लिएको कार्यकर्ताहरूको अनुभव छ । ‘सधैभरि ०५१ सालमा बृद्धभत्ता ल्यायौँ, आफ्नो गाउँ आफैँ बनायौँ भनेर मात्र भएन’, रतन रोकायले भने ‘हामीले ल्याएका नयाँ–नयाँ कार्यक्रमहरूका बारेमा जनतालाई बुझाउनुप¥यो ।‘
कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधिका रूपमा जुम्लामा खटिएमा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यकर्ताका यस्तै गुनासा सुन्न र अन्तरक्रिया गर्न पार्टीले मिसन (ग्रासरुट) अभियान सञ्चालन गरेको उल्लेख गरे । उनले भने, ‘हामीसँग चामल छ, हामीले विक्री गर्न सकिरहेका छैनौँ । अरूले होहल्ला गरेर पिठो बेचिरहेका छन् ।,’ उनले कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्दै भने, ‘कार्यकर्ता पंक्ति बलियो भए मात्र पार्टी बलियो हुने भएकाले तपाईँहरू गाउँ गाउँमा खट्नुपर्छ । हामी त्यही काममा उत्प्रेरित गर्नका लागि आएका छौँ ।’,
गरिब, दुर्गम, दलित र पिछडिएका नागरिकहरूका लागि नेकपा (एमाले) सहाराका रूपमा रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य रिजालले भने, ‘एकातिर दूर दराजका गाउँवस्तीका समस्या समाधान गर्नका लागि बाटोघाटो, पुलपुलेसा, बत्ती, विद्यालय, कुलो जस्ता काममा ध्यान केन्द्रित गर्नुछ अर्कातिर मुलुकलाई विकसित बनाउन ठूल्ठूला परियोजनाहरू अघि नबढाई सुखै छैन । त्यही भएर हाम्रा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अघि ल्याएका हौँ । हामीलाई घेराबन्दी गरेर सरकारमा जानबाट रोके पनि जनताको बलमा हामी सरकारमा जानेछौँ र यसलाई सफल पारेरै छाड्नेछौँ ।’,
वडा कमिटीका अध्यक्ष साजन सुवर्णकारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष शान्तिलाल महत, कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्यद्वय धीरेन्द्रराज गिरी र गोर्ख पछाई, प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, प्रदेश प्रतिनिधि भीम थापा, जिल्ला कमिटी सदस्यहरू कमल महत, रामबहादुर रावत, दानबहादुर रावलगायतको उपस्थिति थियो । भेलाबाट वडाभित्रका सदस्यहरूको नवीकरण र नयाँ सदस्यता विस्तारका लागि कार्य योजना पारित गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५