जाजरकोटः जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका-९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका-३ स्यालाकी ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुमन गैरेले बताए । विपना सोही ठाउँका दिलबहादुर भण्डारीकी श्रीमती हुन् ।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनिचाँदे गाउँपालिका-३ स्यालाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन् । घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको उनले बताए ।




खुल्ला प्रेस । २९ आश्विन २०८३, बिहीबार १४:५३