चुनावी गठबन्धनको प्रयासमा एमाले र राप्रपा नेपाल

काठमाडौं : नेकपा एमाले र राप्रपा नेपालबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि सम्वाद भइरहेको नेताहरुले बताएका छन् । तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई छाड्ने हो भने देशभर एमालेलाई सघाउन राप्रपा नेपालको नेतृत्व तयार देखिएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष ओलीलाई भेटेका छन् भने दुई पार्टीका अरु नेताहरुले पनि सम्वाद गरिरहेका छन् । ‘एक सातादेखि कुराकानी भइरहेको छ,’ महामन्त्री सुशील श्रेष्ठले भने

एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल पनि राप्रपा नेपालसँग अनौपचारिक सम्वाद चलिरहेको स्वीकार गर्छन् ।

राप्रपाबाट अलग भएका कमल थापाले डेढ महिनाअघि आफ्नो नेतृत्वमा राप्रपा नेपाल पुनर्गठन अभियान थालेका थिए । उक्त पार्टीका महामन्त्री श्रेष्ठका अनुसार ७७ वटै जिल्लामा जिल्ला कमिटी बनेपनि ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिने अवस्था छैन ।

एक्लै चुनावमा जाने अवस्था नभएकाले तालमेलका लागि एमालेसँग कुराकानी भइरहेको भन्दै श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एमालेसँग अनौपचारिक कुरा भइरहेको छ । सबै कुरा सकारात्मक ढंगबाट गयो भने एमालेसँग गठबन्धनको सम्भावना हुनसक्छ ।’

स्थानीय तह परिचालन विभागका संयोजकसमेत रहेका श्रेष्ठका अनुसार देशभर कहाँकहाँ उम्मेदवार बनाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।

केही स्थानीय पालिकाका प्रमुख वा उपप्रमुखका साथै ५९/६० वडाध्यक्ष तत्कालीन राप्रपाले जितेको भन्दै उनले भने, ‘यदि हाम्रो गठबन्धन भयो भने पहिला हामीले जहाँ जितेका छौं, त्यहाँ उहाँहरुले उम्मेदवारी नदिने, उहाँहरुले जितेको ठाउँमा हामीले नदिने हुनसक्छ ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५