दैलेख: पुरातत्त्व विभागको आयोजनामा तथा नारायण नगरपालिकाको सहआयोजनामा दैलेखमा सम्पदा संरक्षण सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नारायण नगरपालिका, दैलेखमा आयोजित कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गको अध्यक्षता तथा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख तप्तकुमारी खड्का थापा, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, पूर्व नगर प्रमुख रत्नबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल, विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि तथा स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष विष्णु शर्माले स्थानीय सम्पदाको वर्तमान अवस्था र चुनौतीबारे विश्लेषणात्मक प्रस्तुति गरेका थिए। त्यसैगरी पुरातत्त्व विभागका सम्पदा अधिकृत देवेन्द्र भट्टराईले सम्पदा संरक्षण, संवर्द्धन तथा व्यवस्थापनका विविध पक्ष, स्थानीय तहको भूमिका तथा कानुनी व्यवस्थाबारे अभिमुखीकरण गरेका थिए ।

कार्यक्रममा नारायण नगरपालिका–६ मा रहेका ऐतिहासिक भुर्तिका देवलहरूको संरक्षण, संवर्द्धन तथा व्यवस्थापन गर्दै संरक्षित सम्पदाको सूचीमा सूचीकृत गर्ने तथा दीर्घकालीन रूपमा विश्व सम्पदा सूचीमा समावेश गराउने विषयमा विस्तृत छलफल गरिएको थियो ।
छलफलका क्रममा सम्बन्धित निकाय, विज्ञ तथा स्थानीय सरोकारवालाबीच निरन्तर समन्वय र परामर्श आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए । कार्यक्रममा सहभागीहरूले भुर्तिका देवलहरूलाई नेपाल सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गर्दै विश्व सम्पदाको आधारभूत प्रक्रिया अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी सम्पूर्णप्रति आयोजकले आभार तथा कृतज्ञता व्यक्त गरेका छन् ।



खुल्ला प्रेस । १४ जेष्ठ २०८३, बिहीबार १३:११