काठमाडौंः चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार दुई महिनामा कुल निर्यात ७६ अर्ब ५९ करोड पुगेको हो । अघिल्लो वर्ष भदौसम्म निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक शिट, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), प्रशोेधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै भदौसम्ममा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेको छ । भदौसम्म ४०१ अर्ब ५२ करोड आयात पुगेको हो । अघिल्लो वर्ष भदौसम्म आयात १६.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमश: २७.४ प्रतिशत, १७.२ प्रतिशत र ५६.६ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै यो दुई महिनामा कुल वस्तु व्यापार घाटा २६.० प्रतिशतले बढेर ३२४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.६ प्रतिशतले वृद्धि भएकोे थियो । यो वर्ष निर्यात–आयात अनुपात १९.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १५.५ प्रतिशत रहेको थियो ।




खुल्ला प्रेस । २९ आश्विन २०८३, बिहीबार २०:४८