सुर्खेतमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माण सम्झौता

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ । त्यसका लागि आइतबार निर्माण कम्पनी र प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुबै पक्षबीच ३० महिनाभित्रै रंगशाला निर्माणको काम सम्पन्न हुनेगरी कार्यसम्झौता भएको छ । यो आयोजनालाई कर्णाली प्रदेश सरकारले यसअघिनै प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरेको थियो ।

खेलकुद परिषदका सदस्य—सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रंगशाला निर्माणको जिम्मा काठमाडौंको कान्तिपथका रहेको एमएसीजी कम्पनीले लिएको छ ।

अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाईने सदस्य–सचिव सञ्ज्यालले बताए । ‘रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाइने छ,’ उनले भने ।

सदस्य–सचिव सञ्ज्याललका अनुसार रंगशाला निर्माणका लागि १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लागत लाग्ने अनुमान गरिएको छ । रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाइने छ भने आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक बनाइनेछ ।

भूकम्प प्रतिरोधी प्याराफिट, भीआइपी प्याराफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भीआईपी वेटिङरुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रंगशालाको डिजाइन गरिएको छ ।

टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ ।

रंगशालाभित्र १५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबल लगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले समय अगावै रंगशाला निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह समेत गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५