दैलेख: सोसेक नेपालले १९औँ वार्षिक सामाजिक परीक्षण गरेको छ । सोमबार दैलेख सदरमुकाम अन्तिम रूप दिन कार्यक्रम गरेको हो ।
सोसेक नेपालको आयोजनामा भएको सामाजिक परीक्षणको सहजीकरण बाल संरक्षण,सामाजिक तथा लैङ्गिक परिक्षण बिशेषज्ञ मिना शर्माले गरेकी थिइन् । कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधि, पुर्याएको योगदान र हासिल गरेका उपलब्धिबारे विस्तृत समीक्षा गर्दै आगामी दिनमा कुन-कुन क्षेत्रमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिएको छ ।
समीक्षाका क्रममा चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक हर्क विकले संस्थाले विद्यालयमा बालमैत्री भौतिक संरचना र शैक्षिक सामग्री उपलब्ध गराएपछि विद्यार्थीहरूमा ठुलो सुधार आएको र सोही वातावरणका कारण आफू कर्णाली प्रदेशबाट नमुना विद्यालय शिक्षकका रूपमा सम्मानित हुन सफल भएको बताए। त्यस्तै चामुण्डा बिन्द्रासैनी–६ की अगुवा कृषक सन्त कुमारी शाहीले संस्थाको प्राविधिक सहयोगपछि व्यावसायिक तरकारी खेती सुरु गरी टोलमै उत्पादन बढाउन सफल भएको बताइन्।
नौमुले गाउँपालिका-७ का अनिल कुमार विश्वकर्माले सोसेकको पहलपछि अपाङ्गता भएका व्यक्तिहरूले समाजमा सम्मान पाउन थालेको र आफूले मोबाइल मर्मत तालिममा सहभागी भएको बताए । बाल अभियन्ताहरूले बाल क्लब गठन र सशक्तीकरणका कार्यक्रमले आफूहरूमा नेतृत्व र अभिव्यक्ति क्षमताको विकास भएको बताए ।
कार्यक्रममा समन्वय उपप्रमुख केशवबहादुर शाही, नेपाली काँग्रेसका सभापति मणिराम रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव रमेश केसी, नेपाल मजदुर किसान पार्टीका सदस्य रत्न श्रेष्ठ, र प्रमुख जिल्ला अधिकारी आनन्द सारूले दैलेखमा स्थापित संस्थाले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसम्म कार्यक्षेत्र विस्तार गर्नु गौरवको विषय भएको बताए । भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना खड्का र डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले पालिका र संस्थाको साझेदारीलाई आगामी दिनमा अझ स्पष्ट र मजबुत बनाउने धारण राखे ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले वर्षभरि भएका कामहरूको समीक्षा गर्दै संस्थाले आफ्ना प्राथमिकताका क्षेत्रहरूमा पारदर्शी ढङ्गले काम गरिरहेको र आगामी दिनमा प्राप्त सुझावहरूलाई समेटेर कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने बताए।
कार्यक्रमको समापन गर्दै सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले सामाजिक परीक्षणमा प्राप्त रचनात्मक सुझाव र प्रतिक्रियाले संस्थालाई अझ परिष्कृत रूपमा अगाडि बढ्न मार्गदर्शन भएको बताइन्। उनले लक्षित वर्ग, सीमान्तकृत समुदाय र स्थानीय सरकारसँगको समन्वय र सहकार्यलाई आगामी दिनमा अझ सशक्त र व्यवस्थित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिन्। सोमबारको कार्यक्रममा कर्मचारी, पत्रकार सहित करिब २०० भन्दा बढीको उपस्थिति थियो ।




खुल्ला प्रेस । ४ श्रावण २०८३, सोमबार २०:०१