दैलेख: भगवतीमाई गाउँपालिकास्थित श्री ज्वाला माध्यमिक विद्यालयका विद्यार्थी अहिले कक्षाकोठामा कृषि पढेर मात्र बस्दैनन्. उनीहरू बारीमा प्रयोगात्मक उत्पादन गर्छन्, उपज प्रशोधन गर्छन् र त्यसलाई बजारसम्म पुर्याउने अभ्यासमा जुटेका छन् । विद्यालयमा कक्षा ९ देखि १२ सम्म सञ्चालित कृषि प्राविधिक धारले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै उत्पादन, प्रशोधन र बजारीकरणमा जोडेको हो ।
विद्यार्थीले बारीमा प्रयोगात्मक उत्पादन गरेको धानबाट चामल, मूलाबाट परम्परागत सिन्की र विभिन्न प्रजातिका च्याउ तथा डल्ले खुर्सानीबाट अचार तयार गरेका छन् । उत्पादित बस्तुको बजारीकरणका लागि आवश्यक तयारीसमेत भइरहेको विद्यालयले जनाएको छ ।
कृषि उपजलाई कच्चा पदार्थका रूपमा बिक्री गर्नुभन्दा त्यसको प्रशोधनमार्फत मूल्य अभिवृद्धि गर्ने सीप विद्यार्थीलाई सिकाइएको कार्यक्रम संयोजक मनसुन दाहालले बताए । ‘हाम्रो उद्देश्य विद्यार्थीलाई कक्षाकोठाको चौघेरामा मात्र सीमित नराखी उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण भ्यालु चेनमा जोड्नु हो,’ उनले भने, ‘विद्यालयलाई कृषि ज्ञान, आधुनिक प्रविधि र स्थानीय समुदायबीचको सेतुका रूपमा विकास गर्दैछौं ।’
विद्यालयले कृषि शिक्षालाई समुदायसँग जोड्ने योजना पनि अघि सारेको छ । स्थानीय तहमा माटो परीक्षण शिविर सञ्चालन गरी किसानलाई प्राविधिक परामर्श दिने, स्थानीय तथा लोपोन्मुख बीउ संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने र स्थानीय किसानसँग प्रत्यक्ष प्राविधिक सहकार्य गर्ने विद्यालयको योजना छ ।

प्रधानाध्यापक रामबहादुर थापाका अनुसार विद्यार्थीलाई सीपसँगै उत्पादन र बजारको ज्ञान दिने उद्देश्यले कृषि शिक्षालाई व्यावहारिक बनाइएको हो । ‘शिक्षासँग सीप, सीपसँग उत्पादन र उत्पादनसँग बजार जोड्ने अभियान हो,’ उनले भने, ‘यसले कृषि अध्ययनको विषय मात्र नभई आम्दानी र रोजगारीको आधार पनि हो भन्ने बुझाउन सहयोग गर्छ ।’
विद्यालयले आगामी दिनमा स्थानीय स्रोत र प्रविधिमा आधारित कृषि उद्यमलाई प्राथमिकता दिने जनाएको छ । विद्यार्थीले सिकेको सीप समुदायका किसानसम्म पुर्याउने र विद्यालयलाई स्थानीय कृषि ज्ञान तथा उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य विद्यालयको छ।




खुल्ला प्रेस । १० भाद्र २०८३, बुधबार ११:५९