दैलेख : डेकेन्द्र थापा हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भएका मुख्य अभियुक्त अझै पक्राउ पर्न नसकेको भन्दै नेपाल पत्रकार महासंघ दैलेख शाखाले जिल्ला प्रहरी कार्यालय दैलेखको ध्यानाकर्षण गराएको छ।
पत्रकार महासंघ दैलेख शाखाले अदालतको फैसला कार्यान्वयन गर्दै दोषी ठहर भएका अभियुक्तलाई तत्काल पक्राउ गर्न मागसहित जिल्ला प्रहरी कार्यालय दैलेखलाई अनुरोध पत्र बुझाएको हो।
महासंघका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय पुगेर अदालतको फैसला कार्यान्वयनमा प्रहरी प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति लामो समयसम्म पक्राउ नपर्नुले न्यायिक फैसला कार्यान्वयनप्रति गम्भीर प्रश्न उठ्ने भन्दै महासंघले तत्काल आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
द्वन्द्वकालीन समयमा पत्रकार डेकेन्द्र थापाको हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको अभियोगमा मुद्दा चलेका व्यक्तिमध्ये अदालतले दोषी ठहर गरेका मुख्य अभियुक्त पक्राउ हुन नसकेको विषयलाई महासंघले गम्भीर रूपमा लिएको जनाएको छ।
पत्रकार महासंघले पीडित परिवारलाई न्यायको अनुभूति दिलाउन तथा अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न दोषी ठहर भएका अभियुक्तलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखले पनि अदालतको फैसला तथा कानुनी प्रक्रियाअनुसार दोषी ठहर भएका व्यक्तिको खोजी तथा पक्राउका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।




खुल्ला प्रेस । १५ भाद्र २०८३, सोमबार १७:३२