डेङ्गु नियन्त्रणका लागि देशभर तीन महिने सचेतना अभियान सुरु

काठमाडौँः डेङ्गु संक्रमणको जोखिम बढ्ने मौसमलाई लक्षित गर्दै आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमा लामखुट्टेको प्रजनन स्थल खोजी र नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।

मन्त्रालयले अभियानअन्तर्गत सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय तथा सामुदायिक संस्थामा प्रत्येक शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरी लामखुट्टे हुर्कन सक्ने स्थानको पहिचान र सरसफाइ गरिने जनाएको छ ।

वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा हरेक हप्ता समुदायको सहभागितासहित लामखुट्टेको प्रजनन स्थल तथा बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ ।

स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कशप, ग्यारेज, कवाडी सामग्री व्यवस्थापन स्थल, निर्माणाधीन भवन तथा पानी जम्न सक्ने अन्य स्थानको नियमित अनुगमन गरी पानीको निकास र उचित व्यवस्थापन सुनिश्चित गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

विद्यालय तथा शैक्षिक संस्थामार्फत डेङ्गु नियन्त्रणसम्बन्धी व्यवहार परिवर्तन अभिवृद्धि गर्न ‘साथी शिक्षा कार्यक्रम’ र ‘विद्यालय सरसफाइ अभियान’ सञ्चालन गरिनेछ । साथै, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित रूपमा सरसफाइको अवस्था अनुगमन गरिने व्यवस्था गरिएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार साउनदेखि डेङ्गु संक्रमण क्रमशः बढ्ने, भदौमा उच्च बिन्दुमा पुग्ने र असोज–कात्तिकसम्म जोखिम कायम रहने भएकाले यही अवधिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

उनका अनुसार होटेल, ग्यारेज, कवाडी व्यवस्थापन स्थल, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक स्थललाई उच्च प्राथमिकतामा राखेर सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

महाशाखाको तथ्यांकअनुसार नेपालमा सन् २०२२ मा ५६ हजार जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो । यो संख्या सन् २०२३ मा ५२ हजार, सन् २०२४ मा ४६ हजार र सन् २०२५ मा घटेर ८ हजारमा झरेको छ ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ देखि देशव्यापी रूपमा ‘साउन, भदौ र असोज महिना: डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्दै आएको जनाएको छ । मन्त्रालयका अनुसार अभियानले डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना विस्तार गर्न र समुदायको सहभागितामार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याएको छ ।

यसैबीच, भूमि व्यवस्था, सहकारी, संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संगठन तथा सम्बन्धित निकायसँग सहकार्य गरी अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५