९७ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित

 सुर्खेत ः  कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकामध्ये ठूलो संख्या विद्यालय शिक्षा लिनबाट वञ्चित भएको पाइएको छ । प्रदेशमा अपाङ्गता भएका ९७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । तीन प्रतिशतले मात्र विद्यालय जान पाएका हुन् । नेपाल राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको तथ्याङ्क अनुसार यहाँ करिब २० हजार चार सय जना बालबालिका अपाङ्गता भएका छन् । यी बालबालिकामध्ये अधिकांश विद्यालयको पहुँच बाहिर रहेका छन् ।

हाल कर्णालीमा अपाङ्गता भएकाहरूका लागि अध्यापन गराइने ३९ वटा स्रोत कक्षा छन् । जसमा ३३ वटामात्र अहिले सञ्चालनमा रहेका छन् । स्रोत केन्द्र र एउटा विशेष विद्यालयमा गरी करिब साढे सात सय बालबालिकाले अध्ययन गरिरहेको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले जनाएको छ । महासंघका अध्यक्ष विष्णुप्रसाद शर्माले विभिन्न स्रोत कक्षा र विशेष विद्यालयको छात्राबासमा बसेर पढ्ने अपाङ्गता भएका बालबालिकाको संख्या साढे सात सय जति मात्र रहेको बताए । उनले भने, ‘बाँकी कतिपय सामान्य अपाङ्गता भएका बालबालिकाहरू सामान्य स्कुलमा पनि पढ्छन् । त्यसको तथ्याङ्क भने राख्ने गरिएको छैन ।’

सबैका लागि अनिवार्य शिक्षाको व्यवस्था भए पनि कर्णालीमा अपाङ्गता भएका धेरैजसो बालबालिकाले आधारभूत शिक्षा समेत पाउन नसकेको उनी बताउँछन् । अरू विद्यालयहरूले अपाङ्गता भएका बालबालिकाहरूलाई भर्ना लिन नचाहने, यस्ता बालबालिकाको शिक्षाको लागि राज्यको स्रोत परिचालन हुन नसक्नुजस्ता कारणले उनीहरू शिक्षाबाट वञ्चित भएको महासंघले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख विष्णु अधिकारीले सरकारको बजेट जनचेतनाभन्दा पनि पूर्वाधारतर्फ बढी केन्द्रित हुँदा सीमान्तकृत समुदायका बालबालिका शिक्षाबाट वञ्चित हुन पुगेको बताए । राज्यको लगानी जनचेतनामूलक कार्यमा पनि लगाउन सकिएमा अपाङ्गता भएकाहरूलाई पनि विद्यालयको पहुँचमा पु¥याउन सकिने उनले बताए । उनले सामाजिक विकास मन्त्रालयले तयार पारेको शिक्षा नीतिको मस्यौदामा अपाङ्गता भएका बालबालिकालाई पनि समावेश गरिएको जनाए । अपाङ्गतामैत्री संरचना नहुँनु, भौगोलिक कठिनाइ, आवश्यक पर्ने पाठ्यसामग्री र शिक्षक अभावजस्ता समस्या रहेको सरोकारवालाहरूले बताएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५