कोरोना भाइरस : नेपालमा चौथो लहरको जोखिम कति ?

काठमाडौं : गत माघ ११ मा एकैदिन देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संख्या उच्च हो । दैनिक ३ सयमा झरेको संक्रमणदर उकालो लाग्नुको कारण ओमिक्रोन भएको विज्ञहरु औंल्याउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ ९ मा एसजीन पोजेटिभ देखिएका नमुनामध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको बताएको थियो । स्वास्थ्य मन्त्रालयको विश्लेषण थियो, ‘देशभरिबाट पछिल्लो समय एसजीन पोजेटिभ रहेका मध्येबाट संकलित नमूनाहरुमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन सिक्वेन्सिङको प्राप्त नतिजा अनुसार ३२ नमुनामध्ये २८ नमुनामा ओमिक्रोन पुष्टि भएको छ। बाँकी ४ मा डेल्टा भेरियन्ट देखिएको छ। यसरी नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एसजिन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ ।’ नेपालमा सर्वप्रथम मंसिर २० मा जीन सिक्वेन्सिङ गर्दा दुईजनामा ओमिक्रोन देखियो । त्यसयता दैनिक संक्रमणदर उकालो लाग्दो क्रममा रहेको पाइन्छ ।

तर, केहि दिनयता भने संक्रमणदर ओरालो लागिरहेको छ । स्वास्थ्यका अधिकारीहरुले संक्रमीत संख्या घटेपनि जोखिम नटरेको बताउँछन् । नेपालमा चौथो लहरको जोखिम छ त ? सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन भन्छन्, ‘भाइरस म्युटेसन भइरहन्छ। अहिले संक्रमितको संख्या अप इन डाउन भइरहेको  छ। पछिल्लो चरणमा एकैदिन १२ हजारसम्म पनि संक्रमित संख्या पुगेको छ । त्यसलाई उछिन्ने सम्भावना त धेरै कम देख्छु । सुरुको चरणमा नेपालमा २४ जनामा ओमिक्रोन देखिएको थियो । त्यहि बेलानै हाम्रो समुदायस्तरमै ओमिक्रोन छिरीसकेको थियो । त्यो बेला अस्पतालमा तनावग्रस्त त भएन । तर, संक्रमितको संख्या ह्वात्तै बढ्यो ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मीश्रले संक्रमण जोखिम नटरेको बताइन् । उनले भनिन्, ‘जोखिम कायम नै छ जनस्वास्थ्यका मापदण्डहरु(मास्कको समूचित प्रयोग, भौतिक दुरी कायम र व्यक्तिगत सरसफाइ) कार्यान्वयन गर्नुपर्छ ।’

किन संक्रमित संख्या घट्यो त ? डा.पुन भन्छन्, ‘अस्पतालको चाप पनि निकै न्युन छ । धेरै भन्दा धेरै मानिसहरु घरघरमा बसे । घरका परीवारलाई एकपछि अर्को संक्रमण हुँदै गयो । ओमिक्रोनको लक्षण सामान्य देखिने भएकाले टेष्ट गर्न पनि आएनन् । टेष्ट गर्न नआउँदा तथ्याकं उकालो लाग्ने दर त रोकिने भयो । संक्रमित संख्या घटेपनि समुदायमा छैन भन्ने चाहिँ होइन। मुख्य चासो अस्पताल तनावग्रस्त हुनुभएन । मानिसहरुको मृत्यु हुनुभएन । संक्रमण त भइहाल्छ नै । जनस्वास्थ्यका मापदण्डहरु अवलम्बन त गर्नैपर्छ, ‘डा.पुन भन्छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५