खलो र हली प्रथा अन्त्य गर्न माग

सुर्खेत: दलित सम्बद्ध जनवर्गीय संगठनहरुले कर्णालीमा परम्परागत रुपमा कायम रहेको खलो र हली प्रथा अन्त्य गर्न माग गरेका छन् । मुक्त हलियाको व्यवस्थापन गर्न पनि उनीहरुको माग छ ।

बिहीबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा समक्ष २३ बुँदे माग राख्दै दलित संगठनहरुले शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न निःशुल्क भर्ना, परम्परागत सिप प्रवर्द्धनको आधुनिकीकरण र व्यावसायीकरणका लागि क्षमता अभिवृद्धि लगायतका माग राखेका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । कर्णालीका दलित समुदायले भोग्दै आएका समस्या र मागहरु नीति तथा कार्यक्रम र बजेटमा समेट्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इञ्चार्ज बसन्तकुमार विश्वकर्माले बताए ।

पत्रमा प्रादेशिक दलित छात्राबास भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन, मुख्यमन्त्री दलित आयआर्जन तथा लक्षित वर्ग कार्यक्रममा बजेट बढाउनुपर्ने माग गरिएको छ ।

दलित अधिकार प्रवर्द्धन र विकास ऐन निर्माण गरी तत्काल कार्यान्वयन गरिनुपर्ने विश्वकर्माले बताए । यसका अलावा प्रदेशमा रहेका भूमिहीन तथा सुकुमबासी दलित समुदायलाई जमिन उपलब्ध गराउनुपर्ने, प्रादेशिक कृषि औजार निर्माण कारखाना स्थापना गर्नुपर्ने माग पनि मुख्यमन्त्री समक्ष राखिएको उनको भनाइ छ । कर्णालीका कुल जनसंख्याको २९ प्रतिशत जनसंख्या दलित समुदायको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५