दैलेखः नेपाल प्रेस यूनियन दैलेख शाखाको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। संस्थाका सभापति अभिषेक अनुरागको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
नेपाली काँग्रेसका सभापति मणिराम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकारिताको व्यावसायिक विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारका पेशागत हकहित तथा जिल्लाको पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र जिम्मेवार बनाउने विषयमा छलफल भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा शुभकामना दिदै नेता रेग्मीले समाजमा रहेका हरेक परिस्थितिसंग पत्रकार जगत जुध्ने गरेको बताए । पत्रकारहरुले पार्टीपंतीहरुको हक हितका बारेमा लोकतन्त्रको रक्षा गर्दै आफ्नो व्यवसायिक मर्म निर्वाह गरिरेको देखिन्छ । प्रेस यूनियनको लामो इतिहास छ । त्यसको रक्षा गर्नु हामी सबैको दाहित्व हुने हुँदा यूनियनका सदस्यहरु व्यवसायिक पत्रकारीतामा शसक्त भए लाग्नुपर्ने उनको धारण थियो ।
विषेश अतिथि कर्णाली प्रदेश सरकारका माननिय सामाजिक विकास सभापति पुर्ण चालिसेले पत्रकारले आफ्नो कर्म गरिरहेको भए पनि अन्य सबै निकायको सुरक्षा हुने तर पत्रकार विना सुरक्षा पनि काम गर्न सक्ने भएकाले पत्रकारहरुमा अहिलेको सरकारले पत्रकारलाइ हेर्ने दृष्टिकोण केही फरक भएको बताए ।
कर्णाली प्रदेश सभा सदस्य तथा नि वर्तमान सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अधिवेशन सफलताको शुभकामा दिए । प्रेस यूनियनका केन्द्रीय सदस्य विष्नु न्यौपानेले पत्रकारहरु पनि निति र नियम अनुसार अगाडी बढनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष कमल प्रसाद शर्माले राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तलाई आत्मसात् गर्दै अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्दै शुभकामना व्यक्त गरे। साथै, उनले पछिल्लो समय मिडिया क्षेत्रप्रति सरकारले राखेको दृष्टिकोण र सिर्जना गरेका चुनौतीहरूको महासङ्घले कडा भर्त्सना गर्ने बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारितामा देखिएका चुनौती, पत्रकारको क्षमता अभिवृद्धि तथा स्थानीय मुद्दालाई प्रभावकारी रूपमा सञ्चारमाध्यममा उठाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए।
नेपाल प्रेस युनियन दैलेख शाखाले पत्रकारहरूको पेशागत एकता र क्षमता विकाससँगै नागरिकका आवाजलाई प्राथमिकताका साथ उठाउँदै आएको कार्यक्रमका अध्यक्ष अभिषेक अनुरागले बताए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि आवश्यक योजना तथा प्रतिबद्धता तय गर्ने अपेक्षा सहित नयाँ कार्यसमिति सर्वसहमितमा चयन गरेको छ ।
अनुरागको सभापतित्वमा नयाँ कार्यसमिति चयन:
आठौँ जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनःअभिषेक अनुरागको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेशनले उप-सभापतिमा गणेश शाही, सचिव भीम सिजापति, सह-सचिवमा योगेश खड्का र कोषाध्यक्षमा जीवन आचार्यलाई चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरूमा अस्मित थापा, राजेश नेपाली, हिक्मत ज्ञवाली, जितबहादुर थापा रोशन चुनिएका छन् ।
साथै अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधिहरू समेत छनोट गरेको निर्वाचन मण्डल समिति संयोजक लेखनाथ के.सीले जानकारी दिए । नवनिर्वाचित नेतृत्वले श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण, सङ्गठन सुदृढीकरण र व्यावसायिक पत्रकारिताको प्रवर्धनमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।




खुल्ला प्रेस । १४ भाद्र २०८३, आईतवार २०:२६