सोसेक नेपालको २९औँ बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न

दैलेखः सामाजिक सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको संस्था सोसेक नेपालले २९ औं बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न गरेको छ ।

बिहीबार संस्थाका अध्यक्ष मन्जु खड्काको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले गरेका हुन्। कार्यक्रममा उपाध्यक्ष कविराज रिजालले स्वागत मन्तव्य व्यक्त गरे भने महासचिव ललिता भण्डारीले संस्थाका गतिविधि, प्रगति विवरण तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराइन्। कोषाध्यक्ष लक्ष्मी भन्डारीले संस्थाको आयव्य प्रस्तुत गरिन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले समुदाय स्तरमा सामाजिक रूपान्तरणका लागि सोसेक नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरे। लक्षित वर्गका लागि संस्थाले गरेका कामहरू प्रत्यक्ष महसुस गर्न पाइएको उल्लेख गर्दै खत्रीले आगामी दिनमा पनि यस्तै प्रभावकारी कार्य जारी राख्न शुभकामना व्यक्त गरे।

त्यस्तै, विशेष अतिथि एवं प्रमुख जिल्ला अधिकारी आनन्द सारूले जिल्लामा शान्तिसुरक्षा, सामाजिक सचेतना र मानव अधिकार प्रवर्धनका क्षेत्रमा सोसेक नेपालले खेलेको भूमिकाको प्रसंसा गरे ।
कार्यक्रमका अर्का वक्ता अफ्लाटुन इन्टरनेशनलका एसिया व्यवस्थापक सतिश दौलाले सोसेक नेपालले निकै सराहनीय काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि आफ्नो संस्थाका तर्फबाट सहयोग जारी रहने प्रतिबद्धता जनाए।

संस्थाका अध्यक्ष मन्जु खड्काले सोसेक नेपाललाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने साझेदार निकाय, स्थानीय बासिन्दा र सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरिन्। उनले आगामी दिनमा पनि सीमान्तकृत र पछाडि पारिएका वर्गको हितलाई केन्द्रमा राखेर संस्थाले काम गर्ने बताइन्।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सोसेक नेपालले हरेक वर्ष आफ्नो क्यालेन्डर अनुसार समीक्षा, सामाजिक परीक्षण र वार्षिक साधारण सभा आयोजना गर्दै आएको जानकारी दिए । साथै सोसेकले स्थानीय तहसँगको सहकार्य र संस्थाले सञ्चालन गरेका विकास निर्माण तथा सामाजिक सचेतनाका कार्यक्रमहरूको सकारात्मक प्रभाव परेको धारणा राखे ।

सभामा गैरसरकारी संस्था महासंघकी अध्यक्ष डिलकुमारी चन्द, जिल्ला प्रहरी प्रमुख श्रवण कुमार विक, जिल्ला समन्वय समितिका उपप्रमुख केशव बहादुर शाही, नेकपा (एमाले) का अध्यक्ष सुर्य बहादुर शाही, उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापा तथा नेपाल मजदुर किसान पार्टीका रत्न श्रेष्ठ लगायतले संस्थाको सफलताको शुभकामना दिएका थिए । सो अवसरमा कार्यक्रममा सहभागी बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूले सोसेक नेपालका विभिन्न कार्यक्रमका कारण आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन आएको अनुभव साटेका थिए।

पत्रकार खड्का ‘बाटु थापा स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित

कर्णाली प्रदेशमा महिला, बालबालिका तथा दलित समुदायका सवालमा खोज पत्रकारिता गर्दै आएका नेपाल टेलिभिजनका रिपोर्टर तथा नेपालकर्मका सम्पादक सुशील खड्का ‘बाटु थापा स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।

सोसेक नेपालको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा खड्कालाई उक्त स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

कर्णाली प्रदेशका महिला, बालबालिका र दलित समुदायका अधिकार,राउटे समुदाय, सामाजिक न्याय तथा समावेशी विकाससँग सम्बन्धित विषयमा निरन्तर खोजमूलक समाचार तथा रिपोर्टिङ गर्दै आएको योगदानको कदरस्वरूप खड्कालाई पुरस्कार प्रदान गरिएको बताइएको छ ।

 नेपाल टप  साप्कोटा ‘संगिता राना स्मृति पुरस्कारबाट’ सम्मानित

सोसेक नेपाल दैलेखले स्थापना गरेको संगिता राना स्मृति पुरस्कार-२०८३ बाट नौमुले गाउँपालिका वडा नं. ३ की शुश्री डिलकुमारी सापकोटा पुरस्कृत भएकी छन्। सोसेक नेपाल दैलेखको २९औँ वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा सापकोटालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रविणता तहमा अध्ययनरत सापकोटाले व्यवस्थापन सङ्कायबाट ३.९६ जिपिए प्राप्त गर्दै नेपालकै सर्वाधिक अंकसहित उत्तीर्ण भएको उपलब्धिका लागि उनलाई सम्मान गरिएको हो।

पुरस्कारस्वरूप प्रमाणपत्रसहित नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको संस्थाका अध्यक्ष मञ्जु खड्काले बताइन् ।

गत चैत १६ गते संस्थाका बहालवाला कोषाध्यक्ष स्वर्गीय संगिता राना सवारी दुर्घटनामा परी दिवंगत भएको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो।

दिवंगत राना सामाजिक सेवामा समर्पित निष्ठावान र कर्मठ व्यक्तित्व भएको उल्लेख गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक हीरासिंह थापाले सामाजिक जीवनमा प्रेरणादायी भूमिका खेल्ने तथा महिला, दलित र लक्षित समुदायको समुन्नतिका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए । थापाका अनुसार यसै वर्षदेखि सुरु गरिएको उक्त पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५