दैलेख: केही दिन अघि मात्र एकिकृत समाजवादी छाडेर एमाले वनेका जंगबहादुर शाहीलाई नेकपा (एमाले) ले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार वनाएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए। यद्यपि यसको औपचारिकता दिन भने बाँकी रहेको एमालेले जनाएको छ। शाही कात्तिक २७ गते मात्रै एमाले फर्किएका हुन्। उनी यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा थिए।
एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिने शर्तमा एमालेले पार्टीमा भित्र्याएको हो। शाही २०७४ सालमा पनि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
शाही त्यतिबेला ३ हजार ५२२ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले २ हजार ९०० मत ल्याएका थिए। शाही २०७९ को निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार थिए। तर त्यो चुनावमा भने उनी तेस्रो भए। गत निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लक्ष्मण गुरूङ अध्यक्ष निर्वाचित भएका थिए। उनले २ हजार ९७९ मत ल्याए।
निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका थिए। त्यतिबेला तेस्रो भएका शाहीले २ हजार २६८ मत ल्याए।
यस पटक शाहीको सम्भावना बलियो देखेर जिल्ला कमिटीले उनैलाई सर्वसम्मत उम्मेदवार बनाएको केन्द्रीय सदस्य आचार्यले बताए। गाउँपालिका अध्यक्ष गुरूङको २०७९ माघ २७ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
त्यहाँ कांग्रेसले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाशबहादुर बुढालाई उम्मेदवार बनाउने टुंगो लगाएको छ।आगामी मंसिर १६ गते ४४ स्थानका लागि स्थानीय तहको उपनिर्वाचन हुँदैछ। मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। एमालेले यसपटक सर्वसम्मत रुपमा उम्मेदवार छानेको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए।
एमालेले कात्तिक २८ गतेभित्र उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पठाउन भनेको थियो। तलबाटै अधिकांश ठाउँमा एकल नाम सिफारिस भएर आएकाले सर्वसम्मत उम्मेदवार छानिएको उनकाे भनाइ छ ।
खुल्ला प्रेस । २९ कार्तिक २०८१, बिहीबार १५:२१