दैलेखः भदौ २३ र २४ गते जेनजी समूहको प्रदर्शनका क्रममा भएका क्षतिको विषयमा आपत्ति जनाउदै पाँच दलका नेतृत्वले संयुक्त विज्ञप्ति जारी गरेका छन्। सोमबार पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले प्रदर्शनका क्रममा भएका क्षतिको र संवैधानिक प्रक्रिया विपरित प्रतिनिधिसभा विघटन गरिएको भन्दै संयुक्त विज्ञप्ति सार्वजनी गरेका हुन ।
विज्ञप्तिमा भनिएको छ, “नेपाली समाजमा विद्यमान समस्याहरू शान्तिपूर्ण आन्दोलनमार्फत् समाधान गर्न सकिन्छ, हिंसात्मक गतिविधिले जनतालाई अझै दुःख र निराशा मात्र दिन्छ।” संयुक्त विज्ञप्ति जारी गर्ने दलहरूले लोकतान्त्रिक प्रणाली, राज्य व्यवस्था र संविधानमाथि अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै आन्दोलनका नाममा सृजित अराजक गतिविधि नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन्।
नेकपा एमालेका अध्यक्ष सूर्यबहादुर शाहीले लोकतन्त्र र गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन्। जेन्जीहरूको आन्दोलनका क्रममा विभिन्न सरकारी सम्पत्तिमा क्षति पु¥याइएको घटनालाई उनले एकदमै निन्दनीय रहेको बताए। उनले आन्दोलनको नाममा देशलाई अस्थिर बनाउन खोज्ने तत्वको पहिचान गरी तत्काल कारबाही गर्न माग गरे। शाहीका अनुसार जेन्जीहरूले उठाएका मागप्रति संवेदनशील भएर ध्यान दिनुपर्ने भए पनि आन्दोलनमा संलग्न केही तत्वले देश बर्बादतर्फ लैजान खोजेको आरोप लाए।
“हामी राजनीतिक दलहरूको पनि कमजोरी छ, तर एकजनाले गल्ती गर्दा सबै दलका व्यक्ति भ्रष्ट हुँदैनन्,” उनले भने। उनले विगतमा क–कसको पालमा भ्रष्टाचार भएका छन छानबिन गरेर कानुनी दायरामा ल्याउनुपर्ने बताए। उनले काठमाडौँमा आन्दोलनका क्रममा भौतिक संरचनामा आगलागी हुँदा महानगरका मेयर बालेन शाहले जिम्मेवारी पूरा नगरेको टिप्पणी गरे।“देश र संविधानको रक्षा गर्न अहिले हामी पाँच दल एक ठाउँमा उभिएका छौं, सच्याउँदै फेरि जनतामाझ जानेछौं,” शाहीले भने।
नेपाली कांग्रेसका सभापति मणिराम रेग्मीले पुराना दलहरूले गरेका गल्ती स्वीकार गर्दै सचिएर अघि बढ्नुपर्ने बताए। उनले युवालाई राजनीतिमा स्थान दिनुपर्नेमा जोड दिए।“पार्टी भन्ने कुरा एउटैले कब्जा गरेर राख्नु हुँदैन, त्यही कमजोरी सुन्न नसक्दा अहिलेको अवस्था आएको हो,” उनले भने।
समाजवादी पार्टीका अध्यक्ष मायाराम अधिकारीले पनि देशमा विषम परिस्थिति सिर्जना हुनुमा दलकै कमजोरी देखियो भन्दै अब सचिनुपर्ने धारणा राखे। “हामीले गरेका गल्ती अझै सच्याउन सकेनौं भने ठूलो संकट आउन सक्छ,” उनले चेतावनी दिए। उनका अनुसार जेन्जीले उठाएका माग र आफ्ना माग एउटै हुन् — भ्रष्टाचार अन्त्य र सुशासन।
नेपाल मजदुर किसान पार्टीका सदस्य रत्नबहादुर श्रेष्ठले उद्योगधन्दा बेचिएका कारण युवाहरू विदेश पलायन भएको र भ्रष्टाचार बढेको बताए। “देशमा अशान्ति हुनु भनेको राजनीतिक दलकै कमजोरी हो, अब सोचिएर अघि बढ्नुपर्छ,” उनले भने।नेकपा माओवादी केन्द्रका कर्णाली सदस्य भेषराज थापाले पनि युवाको मागलाई समर्थन गर्दै गल्ती सच्याएर अघि बढ्नुपर्ने धारणा राखे।जिल्ला समन्वय समितीका प्रमुख नमराज शाहीले पार्टीबाट यस्ता गल्ती हुनु नहुने बताए र युवापुस्तीसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। दैलेखका पाँच दलले पत्रकार भेटघाटमार्फत आफ्ना धारणा राख्दै संयुक्त विज्ञप्ति पनि जारी गरेका छन्।
उनीहरूले असोज ३ गते संविधान दिवसकै दिन संवैधानिक प्रक्रिया विपरित प्रतिनिधिसभा विघटन गरिएको भन्दै प्रमुख राजनीतिक दलहरुले प्रदर्शन गर्ने जनाएका छन।




खुल्ला प्रेस । ३० भाद्र २०८२, सोमबार २०:३७