८२ वर्ष पुग्दा पनि नागरिकताविहीन पुनी

सल्यान : सल्यान शारदा नगरपालिका–१ शान्तिनगरकी पुनी नेपाली ८२ वर्षकी भइसक्दा पनि नागरिकताविहीन छन्।

माइती पक्षको पहिचान, जन्मदर्ता र विवाहदर्ता नहुँदा ८२ वर्षीया पुनी नागरिकताविहीन हुँदा उनी सरकारबाट पाउने सामाजिक सुरक्षा भत्तादेखि सरकारी सुविधा पाउन समेत वञ्चित भएकी छन्।

१६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने हरेक नेपाली नागरिकको नैसर्गिक अधिकार हो। पुनीका श्रीमान् डब्बले वादीसँग २०५५ सालमा बनाएको नागरिकता छ तर पति वर्षौंसम्म भारतमा बस्दा विवाहदर्ता नभएको र माइती पक्षको समेत पत्ता नलाग्दा जन्मदर्ताको प्रक्रिया रोकिएपछि पुनीले अझै नागरिकता नपाएको उनका आफन्तको भनाइ छ।

नागरिकता नहुँदा सरकारी सेवासुविधा पाउनबाट आमा वञ्चित भएको छोरी गीता नेपालीले जानकारी दिइन्। नेपालीले भनिन्, ‘म जन्मिएको दुई महिनापछि बुवा कालापार जानुभएछ, ३०/३५ वर्षसम्म पनि उहाँ घर फर्कनु भएन। मेरै नागरिकता बनाउन समेत समस्या भएको छ।’

पुनी यसअघि नागरिकता बनाउन पटक–पटक वडा कार्यालय धाएकी थिइन्। ‘आमाको नागरिकता बनाउन सिफारिस लिन वडा कार्यालयमा दुईपटक पुगे पनि वडा कार्यालयले कि विवाहदर्ता, कि जन्मदर्ता लेऊ भन्छ, त्यो वेला जन्मदर्ता हुँदैनथ्यो, विवाह दर्ता गर्ने बुवा घर हुनुभएन’, गीताले भनिन्।

शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीपकुमार पाण्डेले पुनीको विषयमा आफूले सहजीकरण गर्ने बताए। वडा कार्यालयमा आए नागरिकता बनाउनका लागि समन्वय गरेर प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले वडा कार्यालयको सिफारिसका आधारमा मात्रै नागरिकता बनाउन सकिने बताए। उनले नागरिकता लिने व्यक्तिको जन्ममिति र जन्मस्थान प्रमाणित नहुँदा समस्या हुने बताए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५