आफूमाथि सौताको कल्पना मात्र गर्दा पनि प्रायः महिला विक्षिप्त हुन्छन् । तर चितवनकी एउटी महिला आफैंले श्रीमान्को दोस्रो बिहे गराइदिइन् । त्यतिमात्र होइन, पहिले आफ्नै राजीखुशी र जोडबलमा एउटी युवतीलाई फकाइफुल्याई श्रीमान्सित बिहे गराइदिएकी ती महिलाले पछि कुरो नमिल्दा भने बहुविवाहको मुद्दा हालेर दुवैलाई फसाउन खोजिन् ।
‘नेपालको प्रहरीले पनि कुरै नबुझी उजुरी पर्नासाथ आरोपितहरूलाई पक्रेर थुन्छ’, अधिवक्ता रामकृष्ण अधिकारी भन्छन्, ‘विश्वका विकसित देशमा यस्ता केसमा कसैको विरुद्ध प्रहरीमा उजुरी प¥यो भने पहिले उसको विषयमा अध्ययन, अनुसन्धान गरिन्छ, बरु त्यस अवधिमा तिमी हाम्रो निगरानीमा छौ, यति किमि भन्दा पर नजानु भनेर सूचित गरिन्छ अनि दोषी पाइएमात्र समातेर कानुनी कारबाही अगाडि बढाइन्छ ।’ यो घटनामा पनि चितवन प्रहरीले आरोपित युवती (एक वर्षको बच्चाकी आमा) र पुरुषलाई उजुरी पर्नासाथ पक्रेर हिरासतमा राखेको थियो । उनै वकिल अधिकारीको मद्दतले उनीहरू झ्यालखानाको बास हुनबाट बालबाल बचेका छन् ।
सन् १९८५ मा जम्मु काश्मिरमा भारतीय सेनाका कर्मचारीले ०४३ मा स्याङ्जाकी महिलासित मागी बिहे गरेका थिए । तर लामो समयसम्म बच्चा नभएपछि पिरोलिए र कलकत्ताबाट अनाथ बच्चा ल्याई पाले । तर उक्त बच्चा ठूलो हुँदै जाँदा बाबुआमालाई नै कुट्न आउने हुन थाल्यो । त्यसैले उसबाट बूढेसकालमा आफूहरूको हेरचाह नहुने ठानेर उसलाई अष्ट्रेलिया पठाइदिए ।
सन् २००० मा आर्मीको जागिर छाडी घर आएर कुखुरापालन व्यवसाय गर्दा पनि यो जोडी सँगै थियो । सन् २०१२ मा सेक्युरिटी गार्डको काममा पुरुष फेरि भारत नै गए पुना भन्ने ठाउँमा । त्यहाँ काममा सेटल भएपछि श्रीमतीलाई पनि लगे । पुनामा बस्दा नेपालकै एउटी केटीसित चिनजान यस्तो भयो कि केटी उनीहरूको कोठामा आवत्जावत् गर्ने भइन् । पुनाको तलेगाउँ भन्ने ठाउँस्थित प्लाष्टिक फ्याक्ट्रीमा मेसिन चलाउने काम गरी सानोबुबा–सानीआमा सँगै बस्थिन् उनी ।
करिब २/३ महिनासम्मको लगातार भेटघाट पश्चात् ती महिलाले ‘म बिरामी छु, मुटुको रोग छ, मेरो कोखबाट कुनै सन्तानको जायजन्म भएको छैन, पालेको छोराले हामीलाई हेलाँ गर्छ, मेरो श्रीमान्सँग बिहे गर’भन्दा केटीले पहिले अस्वीकार नगरेकी होइनन् । सानोबुबा, सानीआमा भारतबाट काम छाडी नेपाल फर्केपछि पुनामा एक्लै भएकी केटीसित झन् नजिक बनेर महिलाले आफ्नो श्रीमान्सित बिहे गर्न अरु कर गर्न थालिन् । यहाँसम्मकि केटीलाई डेरा कोठामा बोलाएर श्रीमान्लाई सँगै बस्न लगाउँथिन् ।
ती महिलाकै करबलमा २०७१ असोजमा पुना शहरकै एक मन्दिरमा उनीहरूको बिहे भयो । जेठी–कान्छी दुवैलाई सँगै राखेको करिब तीन वर्षपछि पुनाको काम छोडेर पुरुष नासिक भन्ने ठाउँमा कान्छी श्रीमतीसहित गए । जेठीको काम राम्रो भएकोले पुनामै थिइन् । नासिक बस्दा पनि पुरुषको जेठी श्रीमतीकहाँ आउ–जाउ भइरहन्थ्यो, फोनमा पनि कुराकानी हुने गर्दथ्यो । नासिकमै हुँदा कान्छी श्रीमतीको पेटमा बच्चा बस्यो । २०७४ फागुनमा एउटा छोराको जन्म भयो । त्यसपछि जेठी पनि नासिकमै गएर सँगै बसेकीमा २०७५ मंसिरमा उनीहरू सबैजना चितवन रत्ननगरस्थित घर फर्किए ।
घर फर्केको दोस्रो दिन जेठी श्रीमती मुटुको बिरामी भएकीले चितवन मेडिकल कलेजमा उपचार गराई भोलिपल्ट माइतीघर गइन् भने पुरुष र कान्छी पत्नी साबिक घर कपिलवस्तु गई विवाहदर्ताको प्रमाणपत्र बनाएर चितवन फर्किए । पुरुषको श्रीसम्पत्ति जति जेठी श्रीमतीको नाममा रहेकाले कान्छीले श्रीमान्, जेठी र पालेको छोराउपर २०७५ चैतमा चितवन जिल्ला अदालतमा अंश मुद्दा हाल्नुप¥यो । अनि जेठीले कान्छी र श्रीमान्विरुद्ध बहुविवाहको मुद्दा प्रहरी कार्यालयमा दर्ता गराएकी हुन् ।
त्यसपछि प्रहरीले २०७६ वैशाख १० गते पुरुष र उनकी कान्छीलाई पक्रेर लगेकोमा चितवन अदालतबाट जेठमा थुनछेक अन्तर्गत ३०÷३० हजार धरौटी राखी तारिखमा मुद्दा पुर्पक्ष गर्दै थिए । यसैक्रममा २०७६ माघमा बहुविवाह मुद्दामा फैसला हुँदा जिल्ला अदालतबाट अभियोग माग दाबीबमोजिम एक वर्ष कैदको फैसला भएपछि वकिलको सल्लाहमा उनीहरू पुनरावेदन गए ।
पुनरावेदन अदालतले सम्पूर्ण दसी–प्रमाण हे¥यो । पतिले दोस्रो विवाह गरेको थाहा पाएको तीन महिनाभित्रै बहुविवाहको मुद्दा हाल्नुपर्नेमा जेठी ५÷६ वर्षसम्म चुप हुनु, मन्दिरमा जेठीसमेत उपस्थित भएर उनीहरूको बिहे गराएको, कान्छीको बच्चा बोकेको तस्बिर लगायतका प्रमाण हेरेर पुनरावेदनले उनीहरूलाई बहुविवाह मुद्दामा सफाइ दिएको अधिवक्ता अधिकारीले बताए । अंशबण्डा मुद्दामा जेठीको नाउँमा रहेको सम्पत्ति पाँच भाग लगाई दुई भाग कान्छी र उनको नाबालक छोराले पाउने ठहर जिल्ला अदालतबाटै भएको थियो । अहिले जेठी डिप्रेसनको शिकार भई उनीहरूबाट अलग्गिएर एक्लो जीवनयापन गर्दै रहेको बताइन्छ । जनअाश्था




खुल्ला प्रेस । ९ फाल्गुन २०७८, सोमबार २०:३६