सुर्खेतः पाथिभरा माता बनेर महिलामाथि दुर्व्यवहार गर्ने सुर्खेतका एक युवक कारागार चलान भएका छन् । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो ।
न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।
थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा ८ साउनमा सुर्खेत अदालतमा मुद्दा दर्ता गरिएको थियो । थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्न र सहयोगीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।




खुल्ला प्रेस । १० भाद्र २०८३, बुधबार ११:२६