दैलेख : जिल्लाको दुल्लु नगरपालिकाले पालिका भित्र रहेका युवाहरुलाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिंग) तालिम दिने भएको छ । नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन महिने मोटर ड्राइभिंग तालीमको औपचारिक सुरुवात भएको हो ।
युवाहरूको सीप तथा क्षमताको बिकास गरि स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए । दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको निर्वाचनका बेला युवाहरुलाई रोजगारी दिने प्रमुख एजेण्डा थियो,’उनले भने, ‘स्वही अनुसार पालिका भित्र रहेका बेरोजगार युवाहरुलाई सवारी चालक(ड्राइभिंग) तालिमको सुरुवात गरिएको हो ।’
नगरपालिकामा रहेका १३ वडाका युवाहरुबाट छनोट गरेर पहिलो चरणमा ५० जनालाई यो तालिम दिने र यसपछी पनि अन्य विभिन्न कार्यक्रमबाट नगरका युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको नगरप्रमुख रिजालको भनाई छ । एक महिनासम्म युवाहरुलाई सवारी चालक (ड्राइभिंग) तालिम दिएर सवारी चालक अनुमति पत्र सङ्गै प्रमाणपत्र पदान गरिनेछ । यस्तै यो तालिमका लागि प्रतिव्यक्ति मासिक १२ हजार ५ सय रकम छुट्याइएको छ ।




खुल्ला प्रेस । ११ जेष्ठ २०७९, बुधबार १५:१७