काम नभएपछि १५ वर्षपछि तोडिँदै ठेक्का

वीरेन्द्रनगर- ठेक्का लगेको १५ वर्षसम्म काम नभएपछि जाजरकोट र सुर्खेतका तीन वटा स्वास्थ्य संस्थाको ठेक्का तोडिने भएको छ । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले जाजरकोटका पश्चिममा रहेका दुई स्वास्थ्य संस्थाको काम लामो समय देखि नहुँदा ठेक्का तोड्ने अन्तिम प्रक्रिया सुरु गरेको छ ।

२०७६ असार १६ गते जाजरकोटको सिमाराक्मामा प्रसुती कक्ष निर्माण गर्न मैनाचुली सुरुची जेभी र श्रीसव कन्ट्रयाक्टर मजदुर कन्स्ट्रक्सन सुर्खेतले ठेक्का पाएको थियो । ठेक्का लिएको १५ वर्षसम्म काम नगरेपछि संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले ठेक्का तोड्ने काम सुरु गरेको छ । पटक–पटक लिखित मौखिक जानकारी गराउँदा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियामा पुगेको कार्यालयको भनाइ छ ।

त्यस्तै सुर्खेतको गुटु हेल्थपोस्ट भवन पनि सोही निर्माण कम्पनीले ठेक्का लिएको थियो । सो भवनको कामसमेत १५ वर्षसम्म सम्पन्न नभएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । जाजरकोटको मजकोट बडकुलेमा स्वास्थ्य चौकी बनाउन २०६९ सालमा सम्झौता गरेको श्री फ्राइण्डस् कन्स्ट्रक्सन प्रालिले पनि १४ वर्षसम्म भवन निर्माण सम्पन्न गर्न नसकेपछि कारवाहीमा परेको छ ।

कार्यालयका अनुसार स्वास्थ्य संस्थाजस्तो संवेदनशील संरचना निर्माणमा निर्माण व्यवसायीले लापरवाही गरेका छन् । सम्बन्धित पालिका, जनप्रतिनिधि र आम नागरिकले बारम्बार अनुरोध गर्दा तथा कार्यालयले लिखित ताकेता गर्दासमेत निर्माणस्थलमा व्यवसायी वा उनका प्रतिनिधि लामो समयदेखि अनुपस्थित रहँदै आएका थिए ।

त्यस्तै, सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) बमोजिम ठेक्का तोड्दै कार्यालयले अब निर्माण व्यवसायीबाट बाँकी रकम असुल उपर गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म काम नगरी अलपत्र पारेको कारण त्यहाँको स्वास्थ्य सेवा प्रवाह गर्दा समस्या भइरहेकको छ । उक्त ठाउँमा नयाँ निर्माण गर्न कानुनी झन्झटका कारण समस्या भएको थियो । पुरानाको ठेक्का नतोडिएको र नयाँ निर्माण नभएकाले स्थानीयले सास्ती भोग्दै आएका थिए ।

इता, जाजरकोटकै अलपत्र परेका अन्य पाँच वटा आयोजनासमेत कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तोड्ने प्रक्रिया सुरु गर्न लागेको बताएको छ । पश्चिम जाजरकोटको छेडा थालह सनाखोला चाँदे जुम्ला सडक, जुनिचाँदे (सानाखोला चाँदे जुम्ला सडक खण्डको ३० किमी) २०६८ पुस ५ गते ठेक्का लिएर हालसम्म अलपत्र पर्दै आएको छ । अमर सिस्ने जेभी नेपालगञ्जले उक्त सडक अलपत्र पार्दै आएको छ ।

त्यस्तै साल्मा खोला पुलसमेत लामो समयदेखि अलपत्र पर्दै आएको छ । २०७८ साउन २९ गते लिएको ठेक्काको काम अझै पूरा नहुँदा उक्त ठेक्कासमेत तोड्ने मनस्थितिमा रहेको मन्त्रालयले जनाएको छ । नेपाल मेगा सिस्ने जेभीले उक्त पुल ठेक्का लिएको थियो । जाजरकोटकै बारेकोट गाउँपालिका–८ सागुतरा र नलगाड नगरपालिका–५ सिर्के जोड्ने नलगाड नदीमाथिको मोटरेबल पुलको काम पनि सुरु हुन सकेको छैन ।

यो पुलसमेत नेपाल मेगा सिस्ने जेभीले २०७८ साउन २९ गते ठेक्का लिएको थियो । हालसम्म कुनै पनि काम नहुँदा यहाँका स्थानीय समस्यामा पर्दै आएका छन् । निर्माणको जिम्मेवारी लिएर बीचमै छाडेर वर्षौंसम्म काम अलपत्र बनाउने निर्माण व्यवसायीले गर्दा जाजरकोटको विकास निर्माणमा बाधा पुग्दै आएको छ । मध्यपहाडी लोकमार्गको भेरी नगरपालिकाको दारागौरामा समेत सडक वर्षौदेखि पुल अलपत्र छ ।

त्यहाँ पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्गसँग सिधा यात्रा गर्न नपाउँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । त्यस्तै मध्यपहाडी लोकमार्गकै जाजरकोटको कार्कीगाउँस्थित मन्ता भीर फोर्न नसक्दा लामो समयदेखि मध्यपहाडी लोकमार्गको सिधा यातायात दैलेखसँग जोडिन सकेको छैन । १० वर्ष भन्दा लामो समयसम्म उक्त भीर फोर्न नसक्दा समस्या भएको हो । जाजरकोट खण्डको ८३ किलोमिटर सडकमा सिधा यातायात सञ्चालन हुन नसकेको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५