दैलेख: दैलेखको भगवतिमाई गाउँपालिका विद्यार्थीको गुणस्तरमा सुधार आएको छ । भगवतीमाई गाउँपालिकामा सञ्चालित वल्ड भिजन इन्टरनेशनल नेपाल गाउँपालिका र सोसेक नेपाल दैलेखको साझेदारीमा सञ्चालित बाल प्रायोजन, बाल संरक्षण तथा समावेशी गुणस्तरीय शिक्षा कार्यक्रमले विद्यार्थीको गुणस्तरमा सुधार ल्याएको हो ।
गाउँपालिका भित्रकाे कालिका माध्यमिक विद्यालयको अनुगमन पछि गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा अनुगमनमा देखिएका गतिविधिको बारेमा मङ्गलवार छलफल गरिएको छ । छलफल कार्यक्रममा बोल्दै भगवतिमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले विद्यालय शैक्षिक सुधारका कार्यक्रमले विद्यार्थीको गुणस्तरीय सुधार हुँदै आएको बताए । उनले-“स्थानीय सरकार,सोसेक नेपाल र वल्ड भिजनको साझेदारीले शिक्षा क्षेत्रको सुधार भएको छ ।” अव अन्य क्षेत्रमा पनि पालिका साझेदारी गर्न तयार भएको प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काले पहिले र अहिलेको तुलनामा धेरै फरक छ, बसाई व्यवस्थापन देखि लिएर विद्यार्थीको ब्यवहार परिवर्तनमा परिवर्तन आएको बताइन् ।“20८१ सालको एसइईको नतिजाले भगवतिमाई गाउँपालिकाको शिक्षा क्षेत्र सुधार भएको देखाएको छ, यसले शिक्षा क्षेत्रमा दैलेख जिल्लाको हकमा भगवतीमाईको शैक्षिक सुधार भएको देखाउँछ।शैक्षिक सुधार हुनुमा स्थानीय सरकार, परियोजना र साझेदार संस्थाको ठुलो भूमिका रहेको छ।” अब हामीले पनि विकासे बजेट भन्दा सचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ, उनले भनिन।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले कार्यक्रम साझेदार संस्थाको मात्र नभई पालिकाको नीतिहरूमा रहेर काम गरिरहेकोले पालिकाले सोही कार्यक्रम हाम्रो हो भनेर अपनत्व जनाउनुपर्ने बताए ।
भगवतीमाई गाउँपालिका वडा नं.४ स्थित श्री कालिका माध्यमिक विद्यालय डौँरी मन्घरमा सामाजिक बिकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुर्खेत, वल्ड भिजन इन्टरनेशनल नेपाल र सोसेक नेपाल दैलेखको साझेदारीमा सञ्चालित बाल प्रायोजन, बाल संरक्षण तथा समावेशी गुणस्तरीय शिक्षा र कार्यक्रमको प्रदेश स्तरीय अनुगमन कार्यक्रम पनि गरेको छ ।
भगवतीमाई गाउँपालिका वडा नं.४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न यस अघि नै अध्ययन र मूल्याङ्कनबाट ५१ सूचकहरूमध्ये ९६ प्रतिशत सूचकको प्रगति पूरा भएको निष्कर्षमा पुग्दै भगवतीमाई गाउँपालिका वडा नं. ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न योग्य ठहर गरिएको छ ।
उक्त कार्यक्रममा वडा–४ का वडा अध्यक्ष देवलोक अधिकारी, सामाजिक बिकास मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्रका बलवीर सुनार, लीलाराम सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका विनोद बानिया, भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणजंग पाण्डे, वल्ड भिजन इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयका मुकेश पन्त, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, सोसेक नेपाल कार्यसमिति सदस्य लक्ष्मी भण्डारी नेपाल पत्रकार महांसघ सुर्खेतका सचिव गोविन्द खत्री, गाउँपालिकाका शिक्षा शाखा, पञ्जिकरण शाखा प्रमुख, बाल अधिकार समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।




खुल्ला प्रेस । २९ श्रावण २०८२, बुधबार १०:५०