प्रधानमन्त्री शाह बिहानैदेखि सक्रिय विपतमा एकढिक्का हुन अपिल

दैलेखः पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार र राहतका लागि समन्वय गर्ने, संयन्त्र परिचालनमा खटिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ८:४० मा स्थानीय प्रशासनबाट बाढीको सूचना प्राप्त भएपछि ८:४५ मा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरोकारवाला निकाय/संघसंस्थालाई निर्देशन दिएका थिए ।

त्यसलगत्तै ९ बजे तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदीकिनारमा नजान अनुरोध गरेका थिए । ९:१५ मा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो ।

९:३५ प्रदेश, जिल्ला र स्थानीय तहका रेस्पोन्डरलाई प्राधिकरणबाट उच्च सतर्कतासहित विपत् प्रतिकार्यका लागि जुट्न नेपाल टेलिकम तथा एनसेलमार्फत अलर्ट मेसेज पठाउन लगाएका थिए । ११ बजे विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको र बैठकमा प्रधानमन्त्रीले सरोकारवाला सबैलाई खोज, उद्धार तथा राहतका कार्यहरूमा सक्दो सहयोग गर्न अनुरोध गरेका थिए ।

१२:३० प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसी उद्धार, खोज र राहत तीव्र बनाउने निर्णय भएको थियो । १ बजे प्रधानमन्त्रीबाट बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरी उनीहरूलाई बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यहरूमा सहजीकरण गर्न अनुरोध गरिएको थियो ।

प्रधानमन्त्री शाहले पीडाको यो घडीमा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा रहेको बताएका छन् । यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको संख्यामा उद्धार कार्यमा परिचालन गरेको उनले उल्लेख गरेका छन् । बाढी गएलगत्तै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको, त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठकसमेत बसेर महत्वपूर्ण निर्णय गरिएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री शाहले यस्तो विपत्को वेला सबै एकढिक्का हुनुपर्ने अपिल गरेका छन् । ‘म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आमनागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५