नारायण नगरपालिकाले थाल्यो सडक ब्यवस्थित अभियान

दैलेखः नारायण नगरपालिका दैलेखले बजार क्षेत्रको सडक व्यवस्थित गर्ने अभियान संचालन गरेको छ, मंगलबार दैलेख सदरमुकामा रहेको देवकोटा चोकबाट अभियानको थालनी गरेको हो । स्थानीय एनएमबी चोकदेखि देवकोटा चोकसम्मको सडकलाई स्तरोन्नति तथा व्यवस्थित गर्न एक करोड १२ लाखको ठेक्का सम्झौता भई कामको थालनी भएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए ।
उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालयमार्फत झण्डै एक करोड बराबरको काम हुनेछ । सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा दुई करोड ६० लाख बराबरको काम गर्ने लक्ष्य लिएको नगरप्रमुख शर्माले बताए ।
दैलेख सदरमुकाम वर्षातमा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नुपर्छ भन्ने गुनासो अब धेरै कम आउने अपेक्षा नगरले राखेको छ । साँघुरो सडक त्यसमाथि व्यापारिक सामान सडकसम्मै फैलाउने, घर लगायतका भौतिक निर्माणका सामग्रीले सडक अवरुद्ध भइरहने सदरमुकाममा पैदल आवागमनमा समेत समस्या समाधान गर्ने, सदरमुकामको बीच सडकलाई व्यवस्थित गर्ने, सडकलाई चौडा बनाउने, साँघुरो क्षेत्रलाई फराकिलो बनाउने लगायतका काम नगरपालिकाले सुरु गरेको जनाएको छ ।
मंगलबार देवकोटा चोकस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको क्षेत्रको बाहिरी भाग र चोक आपसासको पेटी जिल्ला प्रहरी कार्यालय अगाडिको भाग भत्काइएको छ । केही दिन भित्र नेपाल प्रहरीको मातहतमा रहेको अगाडिपट्टीको भवन समेत भत्काईने शर्माले बताएका छन् ।
नगरपालिकाका प्रवक्ता जनकप्रसाद न्यौपानेले सदरमुकामलाई व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताए । ‘अब सडकलाई फराकिलो र व्यवस्थित बनाउँदैछौँ, सडकलाई असर गरेको पेटी, घरका सिँढी, भ¥याङ, सार्वजनिक जग्गा ओगटेर बनेका संरचना भत्काउँछौँ,’ उनले भने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५